२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

बाढीपहिरोमा मृत्यु भएका परिवारलाई दुई लाखका दरले सरकारी राहत

८ भदौ, जुम्ला  । बाढीपहिरोमा ज्यान गुमाएका व्यक्तिका परिवारलाई जिल्ला प्रशासन कार्यालय जुम्लाले दुई लाखका दरले राहत वितरण गरेको छ ।

विपदमा ज्यान गुमाएका व्यक्तिका परिवारलाई प्रतिपरिवार २ लाख र एकै परिवारमा एकभन्दा बढीको ज्यान गुमेमा थप १ लाख उपलब्ध गराउने सरकारी व्यवस्था अनुसार राहत वितरण गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी विजया कुमारी प्रसाईँका अनुसार बाढीपहिरोमा ज्यान गुमाएका तातोपानी गाउँपालिका-७ ताम्ती गाउँका वृर्षे रावतकी श्रीमती मैसरी रावतलाई २ लाख तथा जैसरा रावत र उनका छोरा सन्देश रावतका बुवा रणबहादुर रावतलाई ३ लाख प्रदान गरिएको हो ।

२९ साउनमा ताम्तीको घट्टेखोलो तर्ने क्रममा बाढीपहिरोले बगाएर तीन जनाको मृत्यु भएको थियो । उनीहरू सेतक चिनी (जडीबुटी) कोरेर पाटनबाट घर फर्कदै थिए ।

प्रकाशित मिति : ८ भाद्र २०७८, मंगलवार ०९:२७