२ जेष्ठ २०८१, बुधबार | Wed May 15 2024

माधव नेपालले अहिलेसम्म जे गरे त्यो सब पदका लागि रहेछ भन्ने पुष्टि भयो


-विष्णु रिजाल

माधवकुमार नेपालको राजनीतिमा जुन छवि थियो । आजबाट करिब त्यो सकियो । उहाँ कम्युनिष्ट आन्दोलनमा ठूलो योगदान गर्नुृभएको नेता हुनुहुन्थ्यो । नेपालमा कम्यूनष्टि पार्टी जन्माउन र हुर्काउनमा उहाँको योगदान छ । तर उहाँले अहिले आफैंले जन्माएको बच्चाको हत्या गर्नुभएको छ ।

जसरी बच्चालाई जन्मदिएर हुर्काएपछि पनि बाबुआमाले त्यसको ज्यानमा तलमाथी गर्न पाइदैन । पार्टीको हकमा पनि त्यही नै हो । तर उहाँले त्यो लक्ष्मण रेखा नाघ्नुभयो । जे कारणले उहाँले पार्टी भित्र विवाद उठाउनुभएको थियो ती सबै उहाँको पक्षमा समाधान भएका थिए । जेठ २ मा फर्कने सहमति भनेको माधव नेपालले उठाएका बिषयहरुको स्विकार्यता थियो । उहाँले विधी विधान र पद्धतिको कुरालाई निरन्तर उठाउनुभयो । तर उहाँले आफैं त्यो कुरालाई पालना गर्नुभएन ।

पार्टी एकता जोगाउन जेठ २ फर्कने अध्यक्ष केपी शर्मा ओली सहमतिलाई मान्नु भएको भए माधव नेपालले हाम्रो लागि बोल्नुभयो, हामीलाई संरक्षण गर्नुभयो भन्ने सन्देश जाने थियो । हामी पुनस्र्थापित भयौं उहाँ कै कारणले भन्ने सन्देश पनि जाने थियो । तर विधि पद्धति भन्ने चाहिँ माधव नेपालको देखाउने दाँत रहेछ भन्ने कुरा आज उहाँले नयाँ पार्टी दर्ता गरेपछि स्पष्ट भएको छ ।

उहाँले सबै कुरा आफ्नो पदका लागि गर्नुभएको रहेछ भन्ने कुरा स्पष्ट पनि भयो । महाधिवेशनमा हारेर पनि समान हैसियतको अध्यक्ष चाहियो भन्ने जुन कुरा उहाँले गर्नुभयो यस कुराबाट त झन् माधव नेपालको विधि पद्धति के रहेछ भन्ने कुरा सबैले बुझ्ने मौका पाए ।

राजनीतिक ढंगले माधव नेपाललाई हामीले तीनवटा घटनाबाट हेर्नुपर्ने हुन्छ । पहिलो उहाँ महासचिव पनि त्यस्तो बेला हुनुभयो कि महाधिवेशनबाट चुनिएर होइन । मदन भण्डारीको रहस्यमय दुर्घटनाबाट मृत्यु भएपछि उहाँ महासचिब सम्हाल्न आइपुग्नुभयो । दुई ठाउँबाट निर्वाचनमा पराजित भएपनि २०६६ सालमा प्रधानमन्त्री हुनुभयो । संविधानले उहाँलाई प्रधानमन्त्री हुन नरोकेको भएपनि मनोनित भएर प्रधानमन्त्री हुनुभएको यथार्थ हो ।

अहिले पनि उहाँले महाधिवेशन हारेर पनि अध्यक्षको माग गर्नु भनेको पार्टीको र उहाँको लोकतान्त्रिक छविको सरासर त्यसको बर्खिलाप हो । एमाले फुटाउने आजको उहाँको निर्णय असाध्यै दुर्भाग्यपूर्ण हो । मैले पार्टी बनाए हुर्कांए भन्दैमा त्यसको हत्या गर्ने अधिकार उहाँमा रहदैन ।

फेरि उहाँले पाउन बाँकी अब के थियो र ? १४ वर्ष पार्टीको महासचिव, २० महिना प्रधानमन्त्री त भइसक्नुभयो । फेरि पनि पार्टी बलियो हुँदा उहाँले पाउने पद र प्रतिष्ठान प्राप्त हुन्थ्यो नै । माधव नेपालको निर्णयको कारण २०७८ साल भदौ २ गते नेपाली कम्युनिष्ट आन्दोलनको कालो दिनको रुपमा अभिलेखिकरण भयो ।

बाटो बिराएर जानेहरुप्रति भन्नु धेरै केही छैन । जो साथीहरू अलमलमा हुनुहुन्छ, दोधारमा हुनुहुन्छ उहाँहरूले ढुक्क हुनुपर्दछ कि यो पार्टी विधि पद्धति मै चल्छ । सबैको मेहनत र पसिनाबाटै यो पार्टी बनेको हो । त्यसकारण एमालेमा सबैको समान हैसियत र स्थान हुन्छ नै ।

प्रकाशित मिति : २ भाद्र २०७८, बुधबार २१:४१

https://srdb.com.np/