कोटेश्वर जगाती रुटमा आजदेखि टाइम कार्ड लागू, पीक आवरमा ट्रिपर चलाउन रोक
१ साउन, काठमाडौँ । कोटेश्वर जगाती रुटमा आजदेखि टाइम कार्ड लागू गरिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले दुर्घटना कम गर्न आजदेखि भक्तपुरको जगातीदेखि काठमाडौंको कोटेश्वरसम्म गाडीमा टाइमकार्ड लागू गरेको जनाएको छ । भक्तपुरको ६ लेनको सडकमा तीव्र गतिका कारण धेरै दुर्घटना बढेपछि प्रहरीले टाइमकार्ड लागू गरेको हो ।
टाइम कार्ड लागू भएपछि ट्रक, टिपर, भ्यानलगायत गाडीले प्रतिघण्टा ४० किलोमिटरको गतिमा मात्र गुड्नुपाउने छन । महाशाखाले आजदेखि पीक आवरमा ट्रिपर चलाउन रोक लगाइएको छ । भक्तपुरको जगातीदेखि कोटेश्वरसम्म विहान ८ बजेदेखि दिउँसो १२ बजेसम्म र दिउँसो ३ बजेदेखि बेलुकी ८ बजेसम्म ट्रिपर चलाउन रोक लगाएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
आजैदेखि जगाती–कोटेश्वर सडकको बाँयातर्फ मालबाहक र सार्वजनिक गाडी दायाँतर्फ मोटरसाइकल, कार, ट्याक्सी, पर्यटकीय बस, कुटनीतिक नियोगका बस सञ्चालन गर्ने तयारी भएको महाशाखाले जनाएको छ ।
प्रकाशित मिति : १ श्रावण २०७५, मंगलवार १०:४७