९ मंसिर २०८१, आईतवार | Sun Nov 24 2024

मैलुङ खोलाको आईपीओ भोलि बाँडफाँड हुने

२५ साउन, काठमाडाैँ । मैलुङ खोला जलविद्युतको आईपीओ भोलि मंगलबार बाँडफाँड हुने भएको छ । सर्वसाधारणलाई साधारण सेयर निष्कासन तथा बिक्री गरेको कम्पनीको आईपीओको प्रिअलटमेन्टको काम सकिएपछि भोलि बाँडफाँड गरिने भएको हो ।

भोलि बिहान बाँडफाँड गर्ने तयारी रहेको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ । तर समय अहिले नै एकिन हुन नसकेको जनाएको छ । आईपीओको प्रिअलटमेन्टको काम सोमबार सकिएको हो ।

मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको आईपीओमा ३९ गुणा बढी आवेदन परेको थियो । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार २१ लाख १८ हजार ९२५ जना आवेदकले २ करोड ८५ लाख ४१ हजार ८४० कित्ताका लागी आवेदन दिएका हुन् ।

कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेकाले गोला प्रथाबाट बाँडफाँड गरिनेछ । गोलाप्रथा विधिबाट १० कित्ताका दरले बाँडफाँड गर्दा ६८ हजार ४७४ जनाले मात्रै कम्पनीको आईपीओ पाउनेछन् । त्यसैले आवेदन दिएका लगानीकर्ताहरुमध्ये २० लाख ५० हजारभन्दा बढीको हात खालि हुने छ । कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

प्रकाशित मिति : २५ श्रावण २०७८, सोमबार १६:३६