१७ असार २०८१, सोमबार | Mon Jul 1 2024

एमालेले स्थायी कमिटी बैठक बोलायो, माधव समूहको सहभागिता अनिश्चित


३१ असार, काठमाडौँ । प्रमुख विपक्षी दल नेकपा ९एमाले० स्थायी कमिटी बैठक बोलएको छ । एमालेका कार्यालय सचिव शेरबहादुर तामाङले साउन १ गते  ललितुरको तुलसीलाल स्मृति प्रतिष्ठानको कार्यालय च्यासलमा बस्ने गरी बोलाएको जानकारी दिए ।

उनले अध्यक्ष केपी शर्मा ओलीसँगको परामर्शपछि महासचिव ईश्वर पोखरेलले बैठक तय गरेको बताए । १० बुँदे सहमतिपछि बैठक बोलाएर तीन पटकसम्म स्थगित भएको थियो । बैठक स्थगित गराउन माधव नेपाल समूहका नेताहरूले भूमिका खेल्दै आएका छन । उनीहरूले बैठक सारौँ माधव नेपाल पनि आउनुहुन्छ भन्दै भाका सारिरहेका छन ।

शुक्रबारको बैठकका सम्बन्धमा माधव नेपाल समूहले समेत खबर पाएको केन्द्रीय कार्यालयका सचिव तामाङले बताए । बैठक बस्ने सूचनापछि माधव समूहका भनेर चिनिएका एमाले सचिव योगेश भट्टराईले बैठकबारे बुझ्नुपर्ने भन्दै अनभिज्ञता प्रकट गरे ।

पार्टी संसदीय दलको बैठक स्थगित गराउनका लागि दिउँसभर कोशिश गरेका विवाद समाधान कार्यादलका सदस्य समेत रहेका एक सदस्यले भने बैठक नै नराख्न सुझाव दिएको भन्दै बैठक बोलाइएको आश्चर्य व्यक्त गरे । उनले दैनिकीसँग भने, ‘हामीले केही दिन बैठक नराखौँ, एउटा वातावरण तयार गरौँ भनेका हौँ । फेरि बैठक बोलाइएछ ।’

यसअघि दश बुँदे सम्झौता अनुमोदन गर्न असार २८ गते बोलाइएको बैठक नेताहरुको सल्लाहमा स्थगित भएको थियो । माधव नेपालसँग बैठकअघि एकपटक कुरा गराउने भन्ने कार्यदलका सदस्यहरूको प्रयास अहिलेसम्म सफल भएको छैन । अध्यक्ष ओली र नेता नेपालको बीचमा संवाद नहुँदासम्म एमालेको बैठकमा माधव समूहको सहभागिता अनिश्चित बनेको छ ।

यता माधव नेपाल भने नयाँ दलको तयारीमा लागेका छन । उनले एमाले फर्किने सम्भावना नरहेको भन्दै आफू निकटका विद्यार्थी र युवा परिचालन गरिरहेका छन । यद्यपी दोस्रो तहका नेताहरूले बाहिर देखिनेगरी नै नेपालको नयाँ पार्टीवाल अभियानमा साथ दिएको देखिदैन ।

प्रकाशित मिति : ३१ असार २०७८, बिहीबार २०:४६