१७ असार २०८१, सोमबार | Mon Jul 1 2024

देउवा प्रधानमन्त्री भएको खुशीयालीमा राैतहटमा आलम आतंक, पीडितलाई फेरि धम्की


३१ असार, काठमाडाैँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएको भोलिपल्ट बुधबार नै रौतहटका निलम्बित सांसद अफ्ताब आलमका समर्थकले गाउँमा आतंकै मच्चाएका छन् । आलमका समर्थकले देउवा प्रधानमन्त्री भएपछि आफ्ना नेता छुट्नै भन्दै पटका र बन्दुक पड्काएर खुशियाली मनाएका छन् । आलम मुक्त हुने भन्दै पीडितहरुलाई फेरि धम्की दिन थालेका छन् । गत फागुनमा रौतहट पुगेका देउवाले जेलमा रहेका आलमलाई छुटाउने आश्वासन दिनुभएको थियो ।

उहाँले भन्नुभएको थियो ‘मोहम्मद अफ्ताब अहिले जेलमा हुनुहुन्छ । उहाँलाई फसाइएको हो, झुटो मुद्दा लगाइएको हो । उहाँलाई छुटाएर न्याय दिलाउन म आफ्नोतर्फबाट पूरै लागिरहेको छु । अहिले उहाँको मुद्दा अदालती प्रक्रियामा छ । त्यो प्रक्रिया पूरा गरेरै उहाँलाई कैदमुक्त गराउन मैले पहल गर्छु ।’ आलमका समर्थकले सोमबारदेखि नै बन्दुक र पटाका पड्काएर खुशियाली मनाउँदै आएका थिए । त्यसपछि मंगलबार स्थानीय बासिन्दाले बिरोध गरेका थिए ।

विरोधमा उत्रिएका पीडित पक्षलाई आलमका समर्थकले कुटपिट गरेका थिए । कुटपिटबाट रियाज आलम र मोहम्मद अक्सर घाइते छन् । अक्सर गौर अस्पतालमा उपचारपछि घर फर्किएका छन् भने रियाजलाई थप उपचारका लागि वीरगन्ज रेफर गरिएको स्थानीय एमाले नेता किरण साहले जानकारी दिनुभयो । बम विस्फोटको १२ वर्षपछि ०७६ असोजमा रौतहट प्रहरीले नयाँ शिराबाट अनुसन्धान थाल्यो । प्रहरीको सक्रियतापछि पीडितहरूलाई पनि बोल्ने साहस आयो, उहाँहरूले प्रहरीमा जाहेरी दिनु भएको थियो । त्यसकै आधारमा २६ असोज ०७६ मा आलम पक्राउ परे ।

जिल्ला अदालत रौतहटको आदेशपछि आलम अहिले पुर्पक्षका लागि नक्खु कारागारमा छन्, तर उनको आतंक अझै जारी छ । विस्फोटमा ज्यान गुमाउनेमध्येका पिन्टु भनिने त्रिलोकप्रतापका बुबा श्रीनारायण सिंह अझै कानुनी लडाइँमा हुनुहुन्छ । अर्का मृतक ओसी अख्तरकी श्रीमती अमना खातुनले भने आलमको दबाबमा बयान फेर्नुभएको छ ।

प्रकाशित मिति : ३१ असार २०७८, बिहीबार १८:३२