१७ असार २०८१, सोमबार | Mon Jul 1 2024

देउवा प्रधानमन्त्री भएकाे भोलिपल्टै विजय गच्छदार अदालतमा हाजिर


३० असार, काठमाडाैँ ।  शेरबहादुर देउवा प्रधानमन्त्री भएकाे भोलिपल्टै नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदार विशेष अदालतमा हाजिर हुनु भएकाे छ। अदालतले उपस्थित हुन दिएको आदेश पटक–पटक उल्लंघन गर्दै आइरहनु भएका गच्छदार प्रधानमन्त्रीमा देउवा नियुक्त भएकाे भोलिपल्टै अदालत हाजिर हुनु भएकाे हाे । बुधबार बिहान विशेष अदालतमा गच्छदार उपस्थित भएको अदालत स्रोतले जानकारी दिएकाे छ । गच्छदार एक वर्षदेखि विशेष अदालतको फरार सूचीमा रहनु भएकाे थियाे ।

ललिता निवासको ११३ रोपनी जग्गा हिनामिना प्रकरणमा मुछिनुभएका गच्छदारको निवासमा अदालतले पटकपटक म्याद तामेली टाँस गरेको थियो । तर उहा अदालतमा उपस्थित हुनु भएकाे थिएन । हिजाे  शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त हुनुभएसँगै गच्छदार अाज अदालतमा उपस्थित हुनु भएकाे छ ।

अदालतले अहिले गच्छदारको बयान लिइरहेकाे छ बयानपछि उहाकाे मुद्दा प्रक्रिया अगाडि बढाइनेछ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गच्छदारविरुद्ध ९ करोड ६५ लाख ७६ हजार बिगो माग गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको थियो । ललिता निवासको सरकारी जग्गा व्यक्तिको बनाई भ्रष्टाचार गरेको आरोपमा २०७६ माघ २२ गते विशेष अदालतमा गच्छदारसहित १७५ जनाविरुद्ध मुद्दा दायर गरिएको थियो ।

प्रकाशित मिति : ३० असार २०७८, बुधबार ११:२९