२७ आश्विन २०८१, आईतवार | Sun Oct 13 2024

जापानले नेपाललाई कोरोना भाइरस विरुद्धको खोप अनुदानमा दिने

२९ असार, काठमाडौँ । जापान सरकारले नेपालसहित एसियाली मुलुकलाई कोरोना भाइरस विरुद्धको खोप अनुदानमा दिने भएको छ । बेलायति समाचार संस्था रोयटर्सका अनुसार नेपालसहित इरान, बंगलादेश, कम्बोडिया, लाओस, श्रीलंका लगायत मुलुकलाई १ करोड १० लाख मात्रा (डोज) खोप पठाउन लागेको हो ।

रोयटर्सका अनुसार जापानी विदेशमन्त्री तोषिमित्सु मोतेगीले मंगलबार स्थानीय पत्रकारहरुसँग कुरा गर्दै यस्तो बताएका हुन् । जापानले इण्डोनेसिया, ताइवान र भियतनामलाई गत विहीबार नै १० लाख मात्रा खोप पठाइसकेको छ । नेपाल लगायत मुलुकले पनि यही जुलाई महिनाभित्रै खोप प्राप्त गर्नसक्ने समाचारमा जनाइएको छ ।

जापानले उक्त खोप विश्व स्वास्थ्य संगठनको कोभ्याक्स कार्यक्रमअन्तरगत नेपाललाई अनुदानमा दिन लागेको हो । यद्यपि, यसमध्ये नेपालको भागमा कति खोप पर्छ भन्ने जापानले खुलाएको छैन । नेपाल सरकारले १० लाख मात्राको हाराहारीमा खोप प्राप्त हुने जनाएको छ । जापानले ब्रिटिश–स्वीडिस कम्पनी एस्ट्राजेनेकाको खोप नेपाल पठाउन लागेको हो । यो खोप कम्तिमा १० लाख मात्रामा आयो भने यसअघि भारतीय कम्पनीले उत्पादन गरेको कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएर बसेका १४ लाख नेपालीमध्ये धेरैलाई दोस्रो मात्रा खोप दिन पर्याप्त हुने छ ।

पछिल्ला अध्ययनहरुले कोभिसिल्डको विकल्पमा एस्ट्राजेनेका खोप लगाउन सकिने चिकित्सकहरुले बताएका छन् । बेलायतले पनि आउँदो अगस्ट महिनासम्म नेपाललाई यही खोप अनुदान दिने बताएको छ । हालसम्म नेपाललाई भारतले १० लाख मात्रा कोभिसिल्ड र चीनले १८ लाख मात्रा भेरोसेल खोप अनुदानमा दिएका छन् ।

कोभ्याक्स कार्यक्रम अन्तरगत अमेरिकाले १५ लाख ३४ हजारभन्दा बढी मात्रामा खोप अनुदानमा पठाएको छ । अन्य खोपहरु एक जनालाई दुई मात्रा लगाउनु पर्ने भए पनि अमेरिकाले पठाएको जोनसन एण्ड जोनसन कम्पनीको खोप भने एक जनालाई एक डोजमात्रै लगाए पुग्छ । यसबाहेक नेपाललाई कोभ्याक्स कार्यक्रम अन्तरगत थप ३ लाख ३४ हजार मात्रा खोप प्राप्त भइसकेको छ ।

त्यस्तै, सरकारले ६० लाख मात्रा खोप खरीद पनि गरेको छ । चीनसँग ४० लाखमात्रा भेरोसेल खोप किनिएको छ । यसमध्ये पहिलो खेपमा ८ लाख मात्रा खोप नेपाल ल्याइसकिएको छ । बाँकी खोप चाँडै नेपाल आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । भारतसँग किनिएको २० लाख कोभिसिल्ड खोपमध्ये १० लाख नेपालमा ल्याएर लगाइसकिए पनि थप १० लाख मात्रा भने ल्याउन सकिएको छैन । भारतले कोरोना भाइरस महामारीको दोस्रो लहर फैलिएसँगै खोप निर्यातमा प्रतिबन्ध लगाएपछि कोभिसिल्ड भित्रिन नपाएको हो ।

प्रकाशित मिति : २९ असार २०७८, मंगलवार १३:४०