२ जेष्ठ २०८१, बुधबार | Wed May 15 2024

एमाले अध्यक्ष ओली र वरिष्ठ नेता नेपालले संयुक्त विज्ञप्ति जारी गर्ने, मस्याैदा तयार


२२ असार, काठमाडाैँ । नेकपा (एमाले)को आन्तरिक विवाद समाधानका लागि पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले संयुक्त विज्ञप्ति जारी गर्ने हुनुभएको छ । उहाँहरूले एमाले विवाद मिलेको संकेत दिनेगरी विज्ञपति जारी गर्न लाग्नुभएको हो ।

उहाँहरूले जारी गर्ने विज्ञप्तिको मस्यौदामा दोस्रो तहका नेता सम्मिल कार्यदलमा सहमति समेत जुटेको छ । सोही सहमतिको आधारमा तयार भएको विज्ञप्तिको मस्यौदा अध्यक्ष ओली र वरिष्ठ नेता नेपाललाई इमेल मार्फत पठाइएको छ भने कार्यदलका सदस्यले पनि बुझाएका छन ।

ओली र नेपाल दुबैको सहमतिमा बनेको कार्यदलले गरेको सहमति स्वीकार गर्ने विषयमा यसअघि दुबै नेताले सहमति जनाएका छन ।  कार्यदलबाट आएको धारणालाई स्वीकार गर्ने बताएपछि राष्ट्रियसभा निर्वाचनमा नेपाल समूहले एमाले हराएपछि निष्क्रिय भएको कार्यदल पुनः सोमबारबाट सक्रिय भएको छ ।

सोमबार साँझ सिंहदरबारमा बसेको कार्यदलको बैठकले पार्टीको विवाद सकिएको र पार्टी एकढिक्का भएको सन्देश दिन दुई नेताको संयुक्त वक्तव्य आउनुपर्ने अपरिहार्यतालाई महसुस गर्दै त्यसको मस्यौदा तयार गरी दुवै नेतालाई पठाएको हो । योसँगै एमाले दुर्घटनाको मुखबाट फर्किएको छ ।

कार्यदलले यसअघि भएका अनौपचारिक छलफलमा उठेका र सहमति भएका विषयलाई आपसमा बुझ्ने र लिपिबद्ध गर्ने निर्णय भएको कार्यदलका सदस्य पार्टीका सचिव गोकर्ण विष्टले जानकारी दिनुभयो । उहाँले अघि भन्नुभयो, ‘अनौपचारिक संवादका क्रममा जे–जति प्रगति भएको छ, त्यसलाई लिपिबद्ध गर्ने र ओली–नेपाल दुवै नेतालाई त्यसबारे जानकारी दिएर अघि बढ्ने सहमति भएको छ ।’

कार्यदलमा ओली पक्षबाट संसदीय दलका उपनेता सुवास नेम्वाङ, उपमहासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्यहरू प्रदीपकुमार ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल हुनुहुन्छ भने नेपाल पक्षबाट उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल, सचिव गोकर्ण विष्ट, स्थायी कमिटी सदस्यहरू सुरेन्द्र पाण्डे र रघुजी पन्त हुनुहुन्छ । कार्यदलको बैठक मंगलबार १ बजे पुनः बस्ने भएको छ।

प्रकाशित मिति : २२ असार २०७८, मंगलवार ०९:०४

https://srdb.com.np/