१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

संसार देखिसकेको एउटा स्वीस बूढो मर्न कै लागि किन नेपाल आयो ?

-प्रतीक ढकाल

के एउटा प्रशासक यति संवेदनशील पनि हुन सक्छ रु त्यो पनि जागिरे जिन्दगीको सारा अवधि राजस्व समूहमा बिताएको मान्छेभित्र पनि यति मानवीय कोमलता र भावनाहरूलाई खेल्ने ठाउँ हुन्छ ? सोझै भन्नु पर्दा नहोलाजस्तै देखिन्छ । तर असंभव चाहिँ नहुने रहेछ । भारतीय राजस्व सेवाका सहसचिव अरविन्द केजरीवालका मनमा यस्तै भावना नआएको भए उनले वर्षको २/४ करोड सुतीसुती कमाउन सक्थे ।

आखिर भारतमा पनि भ्रष्टाचार कम छैन र उनी पनि करकै ठूला हाकिम थिए । तर उनका मनमा दिल्लीका गरिव जनताको चित्र सल्बलायो, मानवीय भावना जाग्यो र आम आदमी पार्टीको स्थापना गर्दै ‘कुचो’ चुनाव चिन्ह लिएर राजनीतिको फोहोर सफा गर्न उद्यत भए । उनको पद, सम्भावित आम्दानीको परित्याग गर्ने दृढता र यही जनसेवाकांक्षी भावनाको कदर गर्दै दिल्लीका जनताले पनि उनलाई पत्याए र आज केजरीवालले दिल्लीलाई कस्तो बनाइसके भन्ने कुरो विश्वले नै देखिरहेको छ ।

अर्थ सचिवबाट सेवानिवृत्त भएका शंकरप्रसाद कोइरालालाई समयको धारले अर्थ, उद्योग, वणिज्य र आपूर्तिजस्ता चाररचारवटा मालदार र नेताले भए टाउकै फुटाई फुटाई रडाको गरेर खोज्ने मन्त्रालयको मन्त्री बनायो । तर उहाँ पनि गनाएको र अभिमान चढेर टुप्पिएको कहिल्यै थाहा पाइएन । यही प्रसंगमा आज यहाँ चर्चा गर्न खोजिएका राजस्वकै अर्का सहसचिव पात्र हुन केदार पनेरू र उनको हालसालै प्रकाशित आख्यान कृति ‘सेतो याक’ ।

फूटकर गीत र कवितामा मात्र यदाकदा देखिएको यो नामले उपन्यासै लेखेर बजारमा आएपछि नपढ्ने कुरै भएन । र, पढ्दा पाइयो भाषा सरल छ, प्राञ्जल छ, कुनै कृतिमताविनै सलल्ल बगेको छ । पढ्दा कतै ठेस लाग्दैन, जागिरसँग मिसाएर कुनै शंका मान्नै पर्दैन । चार दिन छुट्टी हुने भएपछि रसुवा घुम्न जाने कुराबाट कथानकको उठान हुन्छ । टिमुरे पुग्छन्, केरुङ पुग्छन्, जिलोङ पोर्टको कथा र जाँचपासका लागि पालो कुरेर बसेका नेपाली कन्टेनरहरूका व्यथा देख्छन् ।

कर्मचारी हुन् लेखक, केही ढाँटेकै छैनन् । एउटा उपन्यास जसरी भए पनि नलेखी भएकै छैन भनेर घरदेखि नै भन्दै हिँडेका छन्, साँझ परेपछि मातेकै पनि छन् , प्रेमविनाको यौन त चिसो हुने रहेछ भनेर अनुभव पनि बताएकै छन्, दिउँसो सुत्ने र राति उठ्ने बजारको चर्चा पनि दिल खोलेर गरेकै छन् । अरूले लुकाउने गरेका ‘सहकार्य’ लाई पनि लेखकले त खुलेरै देखाइदिएका छन् ।

यी त भए सबै यात्रागत रमाइलाहरू । तर यहीँबाट कथानकले एउटा अनौठो मोड लिन्छ । छिमेकी घरको आँगनमा एउटा विदेशीको लास देखिएको छ र रुनेहरू सबै नेपाली छन् । उत्सुकताका कारण लेखक आफैं मलामी पनि जान्छन् । नेपाली संस्कृति अनुसार त्यो विदेशीको दाह संस्कार हुन्छ र उसरी नै किरिया पनि बस्छ एउटा सानो तामाङ केटो ।

अनि बल्ल कथाका पत्रहरू खुल्दै जान्छन् फ्ल्यास ब्याकमा । पात्रहरू आउँछन् रङ्गमन्चमा निमा, फूर्वा, पेमा र पिटरहरू । उपन्यासको कथा नै यहाँ भन्नु त सान्दर्भिक पनि हुन्न । तर पाठक पटक पटक नरोईकन कथा पढेर सिद्धिन्न । फेरि सधैं आँसुको मात्र कुरो पनि आउन्न । कथामै कहिलेकाहीँ हिउँ पनि लजाउँछ र पोखिन्छ सल्लाका पातहरूमा । कता कता डकबङ्गला पढेजस्तो पनि लाग्छ ।

यो कथा लेखकको आफ्नै स्वैरकल्पना मात्र हो कि स्थानीयबाट सुनेको कुरो हो रु कतैबाट पनि खुल्दैन । खुले पनि पत्याउने कुरो भएन किनकि यो आख्यान हो, इतिहास होइन । किताब पढिसकेर पनि मनमा धेरै बेर लागिरह्यो एक पटक नेपाल आएको विदेशीले सकेसम्म यो भूमिलाई छोड्नै चाहदैन । तर हामी त सधैँ भुइँ छोडेर उड्ने हजुर पश्चिम दिशामा ! यस्तो किन भएको होला, आँखा चिम्लेर सोचिरहन मन लाग्यो ।

संसार देखिसकेको एउटा स्वीस बूढो मर्नका लागि पनि किन नेपाल आयो ? जान्नका लागि त यो सानो आकारको किताबै पढ्नु पर्ने हुन्छ । यो देशलाई यसरी नै माया गर्न कहिले सिकौंला हामी ?

प्रकाशित मिति : २५ असार २०७८, शुक्रबार ११:३०