१२ असार २०८१, बुधबार | Wed Jun 26 2024

षड्यन्त्रपुर्वक फसाइएको भन्दै सरस्वती प्रधान मानव अधिकार आयोगमाः रुपालाई कारबाहीको माग


१६ असार, काठमाडाैँ । जातिय भेदभाव तथा छुवाछुतको कसुर लागेकी सरस्वती प्रधानले आफुले छुवाछुत तथा विभेदकारी व्यवहार नगरेपनि षड्यन्त्रमुलक तरीकाले फसाइएको भन्दै रुपा सुनार लगायतलाई कारबाहीको माग गर्नुभएको छ ।

बुधबार सरस्वती प्रधानले राष्ट्रिय मानव अधिकार आयोगमा निवेदन दिदैँ सञ्चारकर्मी रुपा सुनार माथि आफुले कुनै प्रकारको जातजाति सम्बन्धी विभेद एवम् छुवाछुतको व्यवहार नगरेपनि आफुमाथि षडयन्त्र गरी प्रहरीमा थुनाएको भन्दै रुपा सुनारलाई हदै सम्मको कारबाही गर्नुपर्ने माग गरी राष्ट्रिय मानव अधिकार आयोगमा निवेदन दिनुभएको छ ।

उहाँले रुपा सुनारलाई कोठा खोज्न सहयोग गर्ने सुष्मा राई र सिर्जना राईलाई पनि कारबाही गर्नुपर्ने माग गर्नुभएको छ । असार १ गते सञ्चारकर्मी रुपा सुनारलाई दलित भएको कारण कोठा नदिएको भन्दै सुनारले प्रहरी वृत्तमा उजुरी दिएसँगै ३ दिन प्रधालाई प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरेको थियो ।

प्रधानले निषेधाज्ञाको समयमा पिसिआर रिपोर्ट बिना कोठा खोज्न हिडेर महामारी फैलाउन खोजेको, अपराधिक कार्यका लागि कोठा खोज्न आएको तथा आफ्नो मञ्जुरी बेगर फोन रेकर्ड गरी त्यसैलाई आधार मानेर प्रहरीमा उजुरी दिएकोमा आफ्नो स्वतन्त्रता विपरित भएकोले कारबाही गरिनुपर्ने बताउनुभएको छ । उहाँले निवेदनमा भन्नुभएको छ – ‘नेपाल सरकारले जारी गरेको निषेधाज्ञाको आदेश उल्लंघन गरी र बिना पिसिआर रिपोर्ट खुल्लेआम आवत् जावत् गरी महामारी फैलाउने मानव विरोधी अपराध गरेको ।

रुपा सुनारलाई कोठा आवश्यकता नै नरहेको भएपनि आपराधिक कार्य गर्नका लागि कोठा खोज्न आएको बाहानाबाजी बनाइ मेरो मञ्जुर बेगर मेरो फोन रकर्ड गरी सोही रेकर्ड, प्रमाण सिर्जना गरीमेरो विरुद्ध छुवाछुतको उजुरी दिई गैरकानुनी एवम् मेरो व्यक्तिगत जीवनको स्वतन्त्रता विपरित हुनेगरी पूर्वाग्रहीपूर्वक थुनाएको ।’

 

यस्तै प्रधानले सञ्चारकर्मी सुनारले सञ्चारकर्मी प्रमाणपत्रको दुरुपयोग गरेको आरोप पनि लगाउनुभएको छ । घरधनी श्रीमान र सासु भएको भन्दै उहाँले आफुलाई घर भाडामा लगाउने अधिकार नभएको स्पष्ट पार्नुभएको छ । आफुलाई घरधनी भनि झुठा आरोप र जालसाजी गरी मानव अधिकार हनन् गरिएको उल्लेख गरिएको छ ।

सञ्चारकर्मीको प्रमाणपत्रको दुरुपयोग गरी निषेधाज्ञाको दिनमा खुलेआम हिडेको तथा सुनार आफैले जातको कुरा निकाली आफुलाई विवादमा ल्याएर मानवता विरोधी अपराध गरेको दाबी गरिएको छ । निवेदनमा उल्लेख छ – ‘घरधनी पति मुकुन्द प्रधान र सासुआमा भएकोले मलाई घर भाडामा राख्ने अधिकार नभएता पनि मलाई घरधनी भनि झुठा आरोप लगाइ जालसाझ गरी मेरो मानव अधिकारको हनन गरेको ।

मैले जातिय छुवाछुतको वादविवाद नै नगरेकोमा पनि नीज रुपा सुनार आफैले म कामीको छोरी हो भनी आफैँले आफ्नो जात देखाइ मलाई विवाद गरी मानव विरोधीको अपराध गरेको ।’

सरस्वती प्रधानले सञ्चारकर्मी रुपा सुनारलाई जातिय आधारमा विभेद गरी कोठा नदिएको भन्दै प्रहरीमा जाहेरी रहेको छ । तिनदिन हिरासत बसेर प्रधान छुट्नुभएको हो । सुनारले पनि आफुमाथि विभेद भएको भन्दै राष्ट्रिय मानव अधिकार आयोगमा निवेदन दिनुभएको छ ।

प्रकाशित मिति : १६ असार २०७८, बुधबार १६:५४