१४ आश्विन २०८१, सोमबार | Tue Oct 1 2024

निषेधाज्ञाका मारमा उद्योग–व्यवसाय, ५० प्रतिशत उद्योग बन्द हुने अवस्थामा

-कृष्ण आचार्य

१२ असार, चितवन । कोरोना महामारी र निरन्तरको निषेधाज्ञाले चितवनका झण्डै ५० प्रतिशत उद्योग बन्द हुने अवस्थामा पुगेका छन् । निरन्तरको निषेधाज्ञा र बढ्दो कोरोना संक्रमणको कारणले कच्चा पदार्थको अभाव तथा उत्पादित बस्तुको बिक्री वितरणमा समस्या आएकोले उद्योगहरु बन्द हुने अवस्थामा पुगेका हुन् ।

चितवनमा रु २५ करोड बढी लगानीका झण्डै एक दर्जन, रु १० करोड बढी लगानीका १०० भन्दा बढी, रु पाँच करोड बढी लगानीका झण्डै २०० वटा उद्योग रहेका छन् । एकातिर रोगको त्रासले उद्योगीहरु तथा मजदुर त्रासमा छन् भने अर्कातिर उद्योग बन्द भएमा बेरोजगारीको दर झनै बढ्दै जाने खतरा पनि रहेको छ । चितवनमा साना तथा ठूला उद्योगमा हजारौ मानिसले प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी पाएका छन् ।

चितवन उद्योग संघका अध्यक्ष राजु पौडेलले अहिले ४० प्रतिशत उद्योगहरु बन्द हुने अवस्थामा पुगेको र निषेधाज्ञा थपिँदै जाँदा ५० प्रतिशत उद्योगहरु बन्द हुने अवस्था रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘‘धेरै उद्योगहरुमा कच्चा पदार्थको अभाव भएको छ । जेनतेन सामान उत्पादन गरिरहेका उद्योगहरुले पनि सहजरुपमा आफ्नो उत्पादन बजारसम्म लान सकेका छैनन् ।’’ कतिपय उद्योगमा मजदूर तथा कर्मचारी कोरोना संक्रमित भएर उद्योग नै बन्द गर्नु परेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘अहिले सहजरुपमा उद्योग चलाउने वातावरण भए पनि कोरोना संक्रमणले चिन्तित बनाएको छ । खुलेका उद्योगहरु पनि बिक्री वितरणमा समस्यामा परेका छन् ।’’

गत वर्षको लकडाउनमा मारमा परेका उद्योगहरु केही सहजरुपमा चल्दै जाने धेरै लगानीकर्ताको अपेक्षा थियो तर कोरोनाको दोस्रो लहरले झनै बढी समस्यामा पारिदियो । घरपरिवार, आफन्त, मजदूर सबै संक्रमित हुँदै जाँदा उद्योग चलाउने मनस्थिति नै नभएको उद्योगीहरु बताउँछन् । उद्योग वाणिज्य संघ चितवनका पूर्वाध्यक्ष तथा उद्योगी तिलचन्द्र भट्टराईले कोरोनाले सबैलाई समस्या पारेको बताउनुभयो । पहिलेको लकडाउनपछि अब विस्तारै वातावरण सहज हुँदै जान्छ भन्ने थियो तर दोस्रो लहरले झनै बढी पीडा थपिदियो ।

होटल र पर्यटन जस्तो उद्योग मात्र नभएर सधै सदावहार मानिएको कृषि उद्योगहरु पनि निषेधाज्ञाको मारमा परेका छन् । कृषि क्षेत्रमा लगानी गर्नुभएका उद्योग वाणिज्य संघ चितवनका पूर्वाध्यक्ष मित्रराज दवाडी कृषि क्षेत्रमा पनि धेरै समस्याहरु निषेधाज्ञाले थपेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘पहिले एक घण्टामा हुने काम अहिले दुई घण्टा लाग्न थालेको छ । निषेधाज्ञाले मजदूर पाउन नै गाह्रो छ । साना तिना व्यवहारिक कठिनाइहरु देखिएका छन् । बल्लबल्ल मजदुर खोज्यो कच्चा पदार्थ पाउन कठिन छ । उत्पादन भइसकेपछि पनि यातायात सहज नहुँदा बजारीकरणमा समस्या आउने गरेको छ ।’

निषेधाज्ञाले मर्कामा परेका उद्योगहरुले सरकारले बजेट मार्फत सम्बोधन गरेकाले केही राहत हुने महशुस गरेका छन । गत वर्षको लकडाउनपछि पनि सरकारले केही न केहीरुपमा उद्योगीका मागलाई सम्बोधन गरेको थियो । चितवन उद्योग संघका अध्यक्ष पौडेलले बन्द हुने अवस्थामा पुगेका उद्योगलाई राहत हुने गरी केही लोन र करमा छुट दिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘उद्योगीहरुले लिएका दीर्घकालीन ऋणलाई पनि सम्बोधन गर्न सके अझ राम्रो हुन्छ । उद्योगहरुमा लगानी बढाउने तर्फ पनि सरकारको ध्यान जानुपर्छ ।’’

डा भट्टराईले पनि कोरोना महामारी नियन्त्रणमा आएपछि उद्योगीहरुले भोगेका समस्याहरुको समाधानमा सरकारले बजेट मार्फत केही सम्बोधन गरेको बताउनुभयो ।

प्रकाशित मिति : १२ असार २०७८, शनिबार २०:२४