४ चैत्र २०८२, बुधबार | Thu Mar 19 2026

पहिलो दिन नै जीवन विकास लघुवित्तको आइपीओमा साढे ३ गुणा बढी आवेदन

११ असार, काठमाडाैँ । जीवन विकास लघुवित्तको आइपीओमा पहिलो दिन नै साढे ३ गुणा बढी आवेदन परेको छ। बिक्री प्रबन्धक एनएमबी क्यापिटलले दिएको जानकारी अनुसार शुक्रबार दिउसो साढे २ बजेसम्म कम्पनीको आइपीओमा ४ लाख ७३ हजार ५२१ जना आवेदकबाट ७३ लाख ८१ हजार ६० कित्ता शेयर खरिदको लागि आवेदन परेको छ। जुन कम्पनीले बिक्रीमा ल्याएको ३.७३ गुणा धेरै हो।

लघुवित्तले आजदेखि प्रतिकित्ता १०० अंकित मूल्यका १९ लाख ७७ हजार ३०० कित्ता साधारण शेयर निष्काशन गरेको हो। यसमध्ये लघुवित्तले ३० हजार ४२० कित्ता अर्थात जारी पूँजीको ५ प्रतिशत शेयर कर्मचारीहरुका लागि र कुल निष्काशनको ५ प्रतिशत अर्थात ९८ हजार ८६५ कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ। सर्वसाधारणले बाँकी १८ लाख ४८ हजार १५ कित्ताका लागि आवेदन दिन सक्नेछन्।

इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। निष्काशन बन्द छिटोमा असार १५ गते हुनेछ भने ढिलोमा असार २५ गते हुने छ।

सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट सि आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। यसका साथै मेरोशेयर सफ्टवेयरमार्फत पनि आवेदन दिन सकिने छ।

प्रकाशित मिति : ११ असार २०७८, शुक्रबार १७:०४