११ पुष २०८२, शुक्रबार | Sat Dec 27 2025

माधव र देउवालाई साक्षी राखेर प्रचण्डले भनेः एमसीसी पास गर्छाैँ दायाँबायाँ हुन्न

१० असार, काठमाडाैँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानको रक्षा गर्दै संविधानको समयानुकुल परिमार्जन गर्ने उद्देश्यको जगमा पाँच दलीय गठबन्धन सम्भव भएको बताउनुभएको छ । बिहीबार विपक्षी गठबन्धनको सम्पादकहरुसँगको छलफलमा बोल्दै अध्यक्ष प्रचण्डले विपक्षी दलहरु बीचको गठबन्धन सद्धान्तिक, व्यवहारिक, राजनीतिक र राष्ट्रिय भावनाको आधारलाई समेटेर बनाइएकोले लामो समयसम्म सँगसँगै जानसक्ने बताउनुभयो ।

उहाँले संविधानको रक्षा गर्दै समयानुकुल परिमार्जन गर्दै लैजाने उद्देश्यमा केन्द्रीत रहेर गठबन्धन बनेको बताउनुभयो । अहिलेको संघर्ष प्रधानमन्त्री कसलाई बनाउने भन्ने नभई राष्ट्रको हितको पक्षमा उभिने र नउभिने विचको रहेको बताउनुभयो । उहाँले ०४६ साल र ०६२/०६३ सालमा लोकतन्त्रवादी र वामपन्थीको मिलेमतोमा आन्दोलन सफल भएको उल्लेख गर्दै अहिलेपनि केपी ओलीको निरंकुशताले लोकतन्त्रवादी र वामपन्थीलाई एकै ठाउँमा ल्याइपुर्याएकाले आन्दोलन सफल हुने बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘सैद्धान्तिक, व्यवहारिक, राजनीतिक र राष्ट्रिय भावनाको आधारलाई पनि समेटेर जानुपर्छ भन्ने निष्कर्षसहित गठबन्धन अगाडी गएको छ । यो गठबन्धन कुनै अवसरवादी गठबन्धन होइन । प्रधानमन्त्रीको निम्ति भएको संघर्ष पनि होइन । यो संविधान, लोकतन्त्र र राष्ट्रको हितको पक्षमा उभिने र नउभिने बिचको लडाइँ हो । सिस्टम बचाउने वा नबचाउने भन्ने विचको लडाइँ हो ।’

अध्यक्ष प्रचण्डले सर्वोच्च अदालतमा आफुहरुको कुनै सेटिङ नभएको बताउनुभयो । मन्त्री नियुक्ति बदर गर्ने सर्वोच्चको फैसला अघि आफुले बोलेको कुरालाई सेटिङ भन्दै टिप्पणी गरिएको भन्दै उहाँले आफुहरु सेटिङ गरेर शासन गर्नेवाला नभएको स्पष्ट पार्नुभयो । प्रधानमन्त्री ओलीले न्यायाधिश र राज्यका अन्य निकायलाई प्रभावमा राख्ने प्रयास गरेको उहाँले जिकिर गर्नुभयो । राष्ट्रपतिले आफ्नो मान, सम्मान गुमाएको पनि उहाँको भनाई छ । सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिदैँ उहाँले एमसीसीको सम्बन्धमा संसदबाट सहमती गराएर राष्ट्रिय हित अनुकुल अगाडी बढाउने पनि बताउनुभयो ।

प्रकाशित मिति : १० असार २०७८, बिहीबार १८:५८