१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

कान्तिपुरले शैक्षिक योग्यता खोजेपछि बर्खास्त हुनुअघि नै प्रधानसम्पादक शर्माको राजिनामा

२६ असार, काठमाडौँ । कान्तिपुर दैनिकका प्रधान सम्पादक सुधिर शर्माले व्यवस्थापनले पटक पटक शैक्षिक योग्यता खोजेपछि बर्खास्त गर्नुअघि नै राजिनामा दिएका छन । व्यवस्थापनले बर्खास्त गर्न तयारी गरेपछि शर्माले राजिनामा दिएको कान्तिपुर स्रोतले बताएको छ । स्रोतका अनुसार शर्माले मंगलबार आफूसँगै आफ्ना मिल्ने साथी दी काठमाडू पोस्टका प्रधानसम्पादक अखिलेश उपाध्यायलाई पनिसँगै राजिनामा गराएका छन ।

इकान्तिपुर डट कमलाई प्रेस काउन्सिल नेपालमा सूचीकृत गरी सूचना विभागमा दर्ता गर्ने विषयमा व्यवस्थापनसँग शर्माको दोहोरो भनाभन समेत भएको थियो । कान्तिपुरका मालिक कैलाश सिरोहियाका छोरा सम्भावसँग शर्माको आइलनाइ दर्ताको विषयलाई लिएर चर्को विवाद देखिएको थियो ।

झण्डै एक वर्ष अघि कान्तिपुर व्यवस्थापनले इकान्तिपुरलाई अनलाइन मिडियाकै रुपमा दर्ता गरेर सञ्चालन गर्न एउटा फाइल तयार गरेर अघि बढ्न खोजेको थियो तर फाइल सम्बन्धित निकायमा नपुर्याइ नै सम्पादकको स्नताक तह उतीर्ण भएको प्रमाणपत्र चाहिने भन्दै सम्भवले पटकपटक शर्मासँग ताकेता गरेका थिए । तर शर्माले आफ्नो प्रमाण देखाउन चाहेनन वा थिएन सम्भवले पाएनन् ।

अन्ततः त्यही विषयमा व्यवस्थापनसँग थप निहुँ खोजेर शैक्षिक योग्यताको प्रमाणपत्र देखाउनु भन्दा बर्खास्त हुनुअघि नै शर्माले राजिनामाको बाटो रोजेका छन । शर्माले सर्वाेच्च अदालतमा परेकाे अवहेलनाकाे मुद्दाका समयमा पनि शैक्षिक प्रमाणपत्र खाेजी हुँदा देखाउन चाहेका  थिएनन्र । शर्मा निकट कान्तिपुरका एक पत्रकारका अनुसार शर्माले प्रविणता प्रमाणपत्र तह नै उत्तीर्ण गर्न सकेका थिएनन्र ।

कान्तिपुरका मालिक कैलाश शिरोहियाले अजयराज सुमार्गीकाे  विरूद्धमा समाचार लेखेरै विगतको लेनदेन मिलाउन दबाब दिँदा सुधिरले सिरोहियासँग केही असहमति समेत राखेको कान्तिपुर स्रोत बताउँछ ।  कान्तिपुरको प्रधानसम्पादक हुँदा शर्माले कांग्रेसी पत्रकारको साथ लिएर वामपन्थीहरुलाई अत्यन्त्यै पीडित बनाएका थिए । उनीबाटै पीडित भएका एकजना कान्तिपुरका पत्रकार राजेन्द्र फूयाँल अहिले राष्ट्रियसभाको सचिव भैसकेका छन । कान्तिपुर भित्र प्रेस युनियनसम्बद्ध पत्रकारलाई छाडा छोड्ने र वामपन्थी निकटकालाई अनुशासनका नाममा बढी कडाइ गर्ने कोशिश शर्माले गर्ने गरेको कान्तिपुरका पत्रकार बताउँछन ।

राजनीतिक रुपमा नेकपाका अध्यक्ष पुष्पकमल दाहालसँग राम्रो सम्बन्ध रहेका शर्माको कार्याकालमा कान्तिपुर सबैभन्दा बढी विवादित बन्न पुगेको थियो । पछिल्लो समय शर्माकै कारण कान्तिपुरमा विज्ञापनसमेत घटेको भन्दै बजार व्यवस्थापनले सिरोहीलाई दबाब दिइरहेको थियो । कान्तिपुरको बजार र वितरणलाई मजबुद बनाउन भन्दै कान्तिपुरमा केही दिनअघिमात्रै एक भारतीय नागरिकलाई भित्राएको थियो । त्यसमा शर्माको केही असन्तुष्टि रहेको थियो ।

यता शर्मालाई हटाउनका निम्ति कांग्रेसी पृष्ठभूमिका हरिबहादुर थापाको सक्रियता पनि उत्तिकै रहेको थियो । थापा समाचारको विषय वा अन्य केही विषय बनाएर शर्मालाई विवादित बनाएर विदा गर्न चाहन्थे र आफू शर्माको कुर्सीमा जान लालयित थिए । यता सामाजिक सञ्जालमा भने कान्तिपुरमा भारतीय लगानीकर्ता भित्रिएपछि शर्मा र उपाध्यायको राजिनामा अाएको भन्दै टिप्पणी भएका छन ।

प्रकाशित मिति : २६ असार २०७५, मंगलवार १८:४७