७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026

बागमती प्रदेशका नागरिकलाई खोप लगाउन दुई अर्ब बजेट

१ असार, हेटाैँडा । बागमती प्रदेशका हरेक उमेर समुहका नागरिकलाई खोप लगाउनका लागि प्रदेश सरकारले बजेट छुट्याएको छ । प्रदेश सरकारले खोप खरिद गर्नका लागि मात्र दुई अर्ब रुपैयाँ बजेट छुट्याएको छ । कोभिड महामारी विरुद्धको खोपमा प्रदेशवासीको पहुँच पुर्‍याउन प्रदेश प्रमुख कोभिड– १९ खोप कार्यक्रम मार्फत नेपाल सरकारसँगको समन्वय र सहकार्यमा प्रदेश भित्रका सबै नागरिकहरुलाई कोरोना भाइरस विरुद्धको खोप प्रदान गर्न २ अर्ब बजेट व्यवस्था गरिएको आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुङ्गेलले वताउनुभयो ।

कोभिड –१९ महामारीमा उपचार, रोकथाम र नियन्त्रणको लागि अग्रपङ्गतिमा रहेर कार्य गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतका जनशक्तिलाई विशेष प्रोत्साहनको व्यवस्था गरिएको उहाँले वताउनुभयो । कोभिड–१९ बाट उत्पन्‍न स्वास्थ्य जोखिमबाट सुरक्षित हुने गरी खानेपानी तथा सरसफाईका गतिविधिहरुलाई एकीकृत रुपमा सञ्‍चालन गर्न र पूर्ण सरसफाई कार्यक्रम कार्यान्वयनमा ल्याउन आवश्यक बजेट व्यवस्था गरिएको मन्त्री ढुंगेलले वताउनुभयो ।

कोभिड पश्‍चातको पुनरुत्थानको आधारः पूर्वाधार विकास, उत्पादन वृद्धि र रोजगारू भन्ने सोचलाई आत्मसात् गर्दै कोभिड १९ महामारीबाट सिर्जित जोखिमलाई मध्यनजर गरी स्वास्थ्य सम्बन्धी मापदण्डको पालना गराउँदै नागरिकको जिउधनको रक्षा गर्ने कार्यलाई उच्च प्राथमिकतामा राखी पूर्वाधार विकास निर्माणको कार्य अगाडि बढाइने भएको छ।

कोभिडको कारण रोजगार गुमाएका, बेरोजगार भएका, विदेशबाट फर्किएका तथा सीमान्तकृत समुदाय र आर्थिक रूपमा विपन्‍न युवा जनशक्तिलाई कृषि, उद्योग तथा सेवा क्षेत्रमा आकर्षित गर्न ‘मेरो गाउँ उद्यम सहित जिउँने ठाउँ’ भन्‍ने अभियान मार्फत् स्थानीयस्तरमा नै रोजगारी सिर्जनाका लागि साझेदारीमा क्षमता विकास, प्राविधिक सीप प्रदान सम्बन्धी कार्यक्रम सञ्‍चालन गर्न आवश्यक बजेट व्यवस्था गरिएको उहाँले वताउनुभयो ।

कोभिड–१९ महामारीबाट प्रदेशको अर्थतन्त्र र समग्र विकासमा परेको असरलाई न्यूनीकरण गर्न लक्षित वर्ग र क्षेत्र विशेषमा पुनरुत्थान र पुनर्भरण कार्यक्रम सञ्‍चालन गरिने छ । बैंक तथा वित्तीय संस्थाहरुको सहकार्यमा प्रदेश सरकारबाट सञ्‍चालित उत्पादन तथा रोजगारी सिर्जनाका लागि सहुलियतपूर्ण ऋण प्रवाह गर्ने कार्यक्रमलाई आगामी आर्थिक वर्षमा समेत निरन्तरता दिन २ अर्ब बजेट विनियोजन गरिएको उहाँले वताउनुभयो ।

कोभिड १९ महामारीले उद्योग, वाणिज्य तथा पर्यटन क्षेत्रमा पारेको असरलाई सम्बोधन गर्न “जहाँ प्रविधि, पुँजी र सीप, त्यहाँ युवाको हित” भन्‍ने सोचसहित युवाहरुमा उद्यमशिलता र स्वरोजगार विकास गर्न प्रविधि हस्तान्तरण, सहुलियतपूर्ण कर्जा, सीपमूलक तालिम लगायत युवालाई प्रोत्साहान गर्ने कार्यक्रम प्रस्ताव गरिएको छ । चालिस वर्ष मुनि उमेर समूहका युवाहरुलाई लक्षित गरी सरल सहुलियतपूर्ण कर्जा, सीपमूलक तालिम लगायतका उद्यमी क्षमता अभिवृद्धि कार्यक्रमको लागि बजेटको व्यवस्था गरिएको छ ।

प्रकाशित मिति : June 15, 2021 at 5:15 pm