१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

काम नगर्ने कम्पनीलाई दण्डित गर्नुपर्छः नेता चौलागाईं

२६ असार,काठमाडौँ  । नेपाल कम्युनिष्ट पार्टीका नेता तथा प्रदेशसभा सदस्य पशुपति चौलागाईंले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई सम्बन्धित वैदेशिक रोजगार कम्पनीसँग समझदारी भएअनुसार काम र ज्याला उपलब्ध गराउनुपर्ने बताउनुभएको छ ।

अखिल नेपाल वैदेशिक रोजगार पीडित तथा परामर्श संघद्वारा  सोमबार आयोजित कार्यक्रममा उहाँले यस व्यवसायलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन श्रमिकलाई सम्झौता अनुसारको कार्य नगर्ने कम्पनीलाई सरकारले दण्डित गर्नुपर्ने बताउनुभयो ।

कीर्तिमानी आरोही आङकामी शेर्पाले वैदेशिक रोजगारमा गएर ठगिएका पीडितलाई निरन्तर सहयोग दिने उद्देश्यका साथ स्थापित उक्त संस्थासँग आफूले सहकार्य गर्ने बताउनुभयो ।

संघका अध्यक्ष दीपक राउत क्षेत्रीले विदेशमा रहेका नेपाली श्रमिक कुनै पनि रुपमा ठगिएर आफ्नो संस्थामा उजुरी आए उनीहरुलाई न्याय दिन आफूहरु क्रियाशील रहेको बताउनुभयो । उक्त कार्यक्रममा संस्थाद्वारा प्रकाशित स्मारिका पनि विमोचन गरिएको थियो ।

प्रकाशित मिति : २६ असार २०७५, मंगलवार १४:४२