२७ चैत्र २०८२, शुक्रबार | Fri Apr 10 2026

निषेधाज्ञाले पाठ्यपुस्तक जिल्लामा पठाउन समस्या

२४ जेठ, गण्डकी । कोरोना महामारी रोकथामका लागि निषेधाज्ञा जारी भएका कारण नयाँ शैक्षिकसत्रका लागि गण्डकी प्रदेशका जिल्लाहरुमा पर्याप्त पाठ्यपुस्तक पुगेको छैन । प्रदेशका हिमाल पारीका जिल्ला मनाङ र मुस्ताङमा त फागुनमा नै नयाँ शैक्षिकसत्र शुरु हुने भए पनि महामारीका कारण अझै ती जिल्लामा पुस्तक पुग्न सकेको छैन । महामारीका कारण शैक्षिकसत्र सुरु भएको चार महिना पुग्न लाग्दा पनि हिमाली जिल्लामा पठनपाठन प्रभावित भएको छ ।

गण्डकी प्रदेशभित्रका सामुदायिक विद्यालयमा पाठ्यपुस्तक वितरण गर्दै आएको जनक शिक्षा समाग्री केन्द्रको पोखरास्थित प्रादेशिक कार्यलयमा सबै कक्षाका पाठ्यपुस्तक भण्डार कक्षमा आइसके पनि बाहिरी जिल्लामा भने हालसम्म नगएको कार्यालयका वरिष्ठ सहायक शिवविलास पौडेलले जानकारी दिनुभयो ।

कार्यालयले नवलपुरबाहेक प्रदेशका १० वटै जिल्लामा सामुदायिक विद्यालयका पुस्तक वितरण गर्दै आएको छ । हिमाली जिल्ला बाहेक प्रदेशका अन्य जिल्लाका सामुदायिक विद्यालयमा आगामी असार १ गतेदेखि वैकल्पिक माध्यमबाट नयाँ शैक्षिकसत्र शुुरु हुँदैछ ।

प्रकाशित मिति : 18:03