१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

अपि पावर कम्पनीको हकप्रद सेयरमा आजदेखि आवेदन दिन सकिने

२० जेठ, काठमाडाैँ । अपि पावर कम्पनी लिमिटेडले आजबाट हकप्रद सेयर निष्कासन तथा बिक्री खुल्ला गरेको छ । कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर नयाँ ०.२९३८ कित्ता शेयरको अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो।

अर्थात कम्पनी १०० कित्ता सेयर हुने लगानीकर्ताहरुले २९ कित्ता हकप्रदका लागि आवेदन दिन सक्नेछन् । यसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका ५६ करोड ७० लाख रुपैयाँ बराबरको ५६ लाख ७० हजार कित्ता हकप्रद जारी गर्नेछ।  आजबाट बिक्रि खुल्ला गरिएको उक्त हकप्रदमा असार ९ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको हकप्रद शेयरको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।

कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने प्रयोजनका लागि बैशाख २९ गते एक दिनका लागि बुक क्लोज गरेको थियो । त्यसैले, बैशाख २८ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र उक्त हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल, अपि पावर कम्पनी लिमिटेड को केन्द्रिय कार्यलय, मुक्तिनाथ बैंक लिमिटेडका तोकिएका शाखा कार्यालयहरू (इटहरी,पोखरा, नारायणगढ,सुर्खेत,नेपालगञ्ज,धनगढी र जनकपुर) र नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि(आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुका साथै मेरो सेयरबाट समेत आवेदन दिन सक्नेछन् ।

क्रेडिट रेटिङ एजेन्सी केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी सिङ्गल बी प्लस आइएस रेटिङ्ग प्रदान गरेको छ। यसले वित्तीय दायित्व पुरा गर्न उच्च जोखिममा रहेको संकेत गर्दछ। हाल १ अर्ब ९२ करोड ९७ लाख ५६ हजार १५० रुपैयाँ रहेको यस कम्पनीको चुक्ता पूँजी हकप्रद निष्काशनपछि २ अर्ब ४९ करोड ६७ लाख ५६ हजार १५० रुपैयाँ पुग्नेछ।

प्रकाशित मिति : २० जेष्ठ २०७८, बिहीबार १५:२६