११ पुष २०८२, शुक्रबार | Sat Dec 27 2025

वार्ताको बारेमा सुरेन्द्र, गोकर्ण र योगेशले माधव नेपाललाई जानकारी नै दिएनन्

१९ जेठ, काठमाडौँ । नेकपा एमालेका नेताहरूले विगतमा आफ्नो समूहका नेता मानेका माधवकुमार नेपाललाई जानकारी नदिएको पाइएको छ । बुधबार आफ्नो समूह निकट रहेका जनवर्गीय संगठनमा आवद्ध रहेका नेताहरुसँगको भर्चुवल बैठकमा एमालेबाट साधारण सदस्य समेत नरहनेगरी निकालिएका नेपालले नै खुलासा गर्नुभएको हो ।

भर्चुवल बैठकमा सहभागी नेताका अनुसार नेता नेपालले वार्ताको विषयमा उठेको कुरा गर्दा नेपालले भन्नुभएको थियो ‘घनश्यामजीले केही बताउनु भएको छ। अन्य साथीहरुसँग कुराकानी गर्छु।’ सोमबार साँझ सात जना नेताहरूले एमालेलाई एक ढिक्का बनाउनका लागि केही अनौपचारिक सहमाति गरेका थिए ।

सो वार्तामा गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र योगेश भट्टराईले ओली पक्षीय नेताहरूले सहमतिको तयारी गर्दा घनश्याम भुसालले भने असहमति प्रकट गर्नुभएको थियो । जुन कुरा यसअघि नै सञ्चार माध्यममा सार्वजनिक भइसकेको छ । वार्ताको विषयमा सुरेन्द्र, गोकर्ण र योगेशले जानकारी नदिएको विषय स्वयं माधव नेपालले नै बताउनुभएको हो ।

यद्यपी उनीहरूको सहमतिको विषयमा अहिलेसम्म बाहिर केही आइसकेको छैन । नेताहरूले एक्लाएक्लै र द्धिपक्षीय रूपमा वार्ता र संवाद गरिरहेका छन । उनीहरूको विषयमा ठोस सहमति नभए पनि नेपाल समूहका नाममा राखिएको जेठ २ गतेको विन्दुबाट पार्टीलाइ अघि बढाउने विषयमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली सकारात्मक देखिएपछि नेपाल भने कांग्रेस सभापति शेरबहादुर देउवासँगको सहकार्य तोडिने डरले नकारात्मक बन्नुभएको छ । जुन कुरा उहाँले बुधबारको भर्चुवल बैठकमा समेत व्यक्त गरेको सहभागी नेताले बताएका छन ।

सोमबार रातिको बैठकमा सहभागी हुनुभएका मध्ये सुवासचन्द्र नेम्वाङ र गोकर्ण विष्ट अझै धेरै मिल्ने ठाउँ रहेको भन्दै केही दिनमा सकारात्मक परिणाम देखिने बताएका छन । माधव नेपाल समूहको भनेर चिनिए पनि नेताहरू विष्ट, भट्टराईले एकताको विकल्प नरहेको भन्दै आत्महत्याको बाटोमा अघि नबढ्न नेपाललाई अनुरोध गर्दै आएका छन ।

प्रकाशित मिति : १९ जेष्ठ २०७८, बुधबार २०:३०