१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

संस्कृत शिक्षालाई जीवनोपयोगी बनाउन आवश्यकः मन्त्री पोखरेल

२३ असार, बर्दिवास । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले संस्कृत शिक्षालाई जीवन उपयोगी बनाउन नयाँ पाठ्यक्रम बनाइएको बताउनुभएको छ । महोत्तरीको मटिहानी नगरपालिकाको मटिहानीस्थित श्री राजकीय संस्कृत माध्यमिक विद्यालयका तीनवटा नयाँ भवनको आज उद्घाटन गर्दै मन्त्री पोखरेलले अब संस्कृत शिक्षामा प्राकृतिक चिकित्साको पाठ्यक्रम थपिएको बताउनुभएको हो । “संस्कृत प्राचीन भाषा हो, यो शिक्षाको प्रसार र संरक्षणमा सरकारले दिँदै आएको अनुदान घटाएको छैन”–मन्त्री पोखरेलले भन्नुभयो, “तर अब संस्कृतलाई प्राचीन भाषाको ज्ञान बढाउने र धर्म, कर्मका लागि मात्र होइन, जीवनसँग जोडेर अघि बढाउनुपर्छ ।”

संस्कृत भाषालाई जीवनोपयोगी बनाउन प्राकृतिक चिकित्सा र आयुर्वेदको पठनपाठनमा जोड दिनुपर्ने मन्त्री पोखरेलको भनाइ थियो । वर्तमान सरकार सबै भाषा, संस्कृतिको विकास र संबद्र्धन हुनपर्छ भन्ने मान्यताले निर्देशित भई अघि बढेको उहाँले बताउनुभयो । यसै मान्यताबाट केही दिन पहिलेमात्र महोत्तरीमा यसपटकको शैक्षिक सत्रमा यहाँको भाषा मैथिलीको पठनपाठन केही विद्यालयमा शुरु गराइएको मन्त्री पोखरेलको भनाइ थियो । समारोहमा मन्त्री पोखरेललाई विद्यालयले संस्कृत भाषामा लेखिएको अभिनन्दनपत्र प्रदान गरेको छ ।

समारोहमा विद्यालयका प्रधानाध्यापक ईश्वरी पौडेलले विसं १७७५ मा गुरुकुल प्रणालीमा स्थापना भएको यो विद्यालयमा नेपाल गुठी संस्थानबाट ४४ बटुक (संस्कृत माविका छात्र) लाई भोजनवृत्ति दिँदै आइएपनि तरकारी, खाने तेल, मसाला र इन्धनबापत ४० वर्ष पहिले निर्धारित छाकको एक रुपैयाँमात्र प्राप्त भइरहेको गुनासो गर्नुभयो । यसबाहेक थप १० लाई भोजनबापत नै दिइने छात्रवृत्ति पनि ४० वर्ष पुरानै मासिक १५० कायम रहेको प्रधानाध्यापक पौडेलको भनाइ थियो । उहाँले यसमा समयअनुकूल सुधार गर्न माग गर्नुभयो ।

मुलुकका हिमाली, पहाडी र मधेससहित भारतका विद्यार्थी पनि अध्ययनरत यस विद्यालयमा यसै शैक्षिक सत्रदेखि कक्षा ११ को पनि पठनपाठन शुरु भएको छ । अहिले विद्यालयका कूल १५० छात्रछात्रालाई बस्ने छात्रबास, भोजन, पोशाक र ओढ्ने, ओछ्याउने लुगा र खाट दाताको सहयोगबाट चलेको जनाइएको छ । यसअघि स–साना छाप्रामा अध्ययन अध्यापन हुँदै आएको सो विद्यालयलाई जिल्ला शिक्षा समन्वय इकाइले उपलब्ध गराएको सहयोगबाट १० वटा कोठाको तीनवटा भवन निर्माण भएको हो । विद्यालयमा अन्य अनिवार्य विषयबाहेक संस्कृत शिक्षाअन्तर्गत अहिले बेद, ज्योतिष, साहित्य, व्याकरण र न्यायसहित पाँच विषयमा पठनपाठन हुँदै आएको छ ।

उद्घाटन समारोहमा प्रतिनिधिसभा सदस्य इन्दु शर्मा, प्रदेशसभा सदस्य अभिराम शर्मा र मटिहानीका नगर प्रमुख हरिप्रसाद मण्डलसहितका वक्ताले यस विद्यालयलाई सबै पक्षबाट साथ सहयोग हुनपर्ने बताउनुभयो ।

प्रकाशित मिति : २३ असार २०७५, शनिबार २२:४०