१७ कार्तिक २०८१, शनिबार | Sun Nov 3 2024

बाढीले अरुण तेस्रोकाे डाइभर्सनल टनेलकाे बाँध बगायो

१४ जेठ, सङ्खुवासभा । नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको डाइभर्सनल टनेलमा पानी हाल्न तयार गरेको बाँध बाढीले बगाएको छ ।

बिहीवारदेखि लगातार परेको पानीपछि अरुण नदीमा आएको बाढीले सङ्खुवासभाको मकालु गाउँपालिका–५ फ्याक्सिन्दा दोभानमा निर्माणाधीन रहेको साे बाँध बगाएको हाे । डाइभर्सनल टनेल बाढीले बगाएपछि त्यो सेक्टरको काम रोकिएको छ ।

अरुण तेस्रोको डाइभर्सनल टनेलमा पानी हाल्न बनाइएको ढुङ्गा माटोको अस्थायी ड्याम बाढीले भत्काएको हो । यो ड्याम साइटमा भारतीय जेपी एसोसियट कम्पनीले काम गरिरहेको छ । सन् २०२३ भित्र सम्पन्न गर्ने लक्ष्य लिइएको नौ सय मेगावाटको अरुण तेस्रो विद्युत् आयोजना भारतीय सरकारी जलविद्युत् कम्पनी सतलज एसजेभीएन कम्पनीले निर्माण गरिरहेको छ ।

२०७५ साल वैशाख २८ गते प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा स्विच थिचेर आयोजनाको शिलान्यास गर्नुभएको थियो । त्यसयता आयोजनाले कामलाई तीव्रता दिँदै आएकाे छ ।

प्रकाशित मिति : १४ जेष्ठ २०७८, शुक्रबार १५:१७