१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

कांग्रेस नेता रार्इको बालुवा तस्करीले नुवाकोट पिपलटारको कुमालबस्तीका ९० घर जोखिममा

२३ असार, काठमाडाैँ । नुवाकोटको विदुर नगरपालिका–५ स्थित पिपलटारमा निर्माण गर्न लागिएको सिद्धिगणेश अक्सिजन ग्यास उद्योगको नाममा बालुवा तस्करी हुँदा ९० घरधुरी रहेको कुमालबस्ती नै जोखिममा परेको छ । सिद्धिगणेश अक्सिजन ग्यास उद्योग  प्रालिको भौतिक संरचना निर्माणका लागि घडेरी सम्याउने नाममा बालुवा उत्खनन गरेर ठूलाे खाल्डो पार्दा पुरै बस्ती नै जोखिममा परेको छ । नेपाली कांग्रेस नुवाकोटका सदस्य समेत रहेका बालुवा व्यवसायी प्रकाश रार्इले उद्योग निर्माणका नाममा बालुवा तस्करी गरेको थाहा पाएपछि प्रशासनले भाैतिक संरचना  निर्माणमै रोक लगाउने  निर्णय गरेको छ ।

नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ५ स्थित पिपलटारमा सिद्धिगणेश अक्सिजन ग्याँस उद्योग सञ्चालनको बाहनामा बालुवा उत्खनन् हुँदै । बालुवा उत्खनन्बाट यहाँको सामुदायिक वनक्षेत्र र ९० घरधुरी रहेको कुमालबस्ती जोखिममा परेका छन् । तस्बिरः रामहरि न्यौपाने, नुवाकोट, रासस

उद्योग स्थापनाका लागि पूर्वाधार निर्माण गर्ने बाहनामा अवैध रुपमा बालुवा उत्खनन गरी त्यसको व्यावसायिक कारोबार गरेको भन्दै प्रशासनले असार १० गते प्रहरीको सहयोगमा निर्माण कार्य तत्कालका लागि रोक लगाएको प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाले बताएका छन ।  विदुर नगरपालिकामा दर्ता भएको उक्त उद्योग २० करोड लगानीमा निर्माण गर्न लागिएको थियो  तर रार्इले उद्योग निर्माणको बहानामा बालुवाको व्यपार गरेको प्रमाणित भएपछि प्रशासनले रोक लगाएको हो ।

उद्योगको स्थापनाका लागि घडेरी खन्ने बाहनामा संरचना निर्माणको मापदण्ड मिचेर अवैधरुपमा बालुवा खानी सञ्चालन गरी बेलकोटगढी नगरपालिका–७ स्थित जयगणेश बालुवा प्रशोधन उद्योगमा लगेर बिक्री गरेको पाइएको भन्दै विदुर नगरपालिकाले काम बन्द गराउन प्रशासनलाई असार ८ गते शुक्रबार पत्र पठाएर आग्रह गरेको थियो ।

उद्योग राख्न लागिएको स्थानमा यसअघि सञ्चालन गरिएको अवैध बालुवा खानीलाई गत चैतमा प्रशासनले बन्द गराएको थियो । उद्योग स्थापनाको समयमा लक्षित उद्देश्यअनुरुप काम नभएको भन्दै विदुर नपामा उजुरी परेपछि भौतिक संरचना निर्माण गर्दा उत्पन्न हुने निर्माण सामग्री नगरपालिकाभित्र मात्र सहुलियत शुल्कमा बिक्री गर्नुपर्ने मापदण्ड बनाइएको थियो ।

तोकिएको मापदण्डको उल्लंघन गरी उद्योगको संरचना निर्माण नगरी अवैध बालुवा उत्खनन गर्नतर्फ केन्द्रित रहेको पाइएकाले निर्माणको काम बन्द गराउन प्रशासनको सहयोग लिएको नगरपालिकाका प्रमुख सञ्जु पण्डितले बताए ।

प्रकाशित मिति : २३ असार २०७५, शनिबार १५:०६