१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

तामाकोशीको मुख्य सुरूङमा आजदेखि पानी पठाइदै, वैशाख भित्रै उत्पादन हुने निश्चित

१६ वैशाख, दोलखा । विगत १० वर्षदेखि दोलखाको विगु गाउँपालिका –१ लामाबगरमा निर्माणाधीन माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको उत्पादन वैशाख भित्रै हुने निश्चित भएको छ ।

स्वदेशी लगानीमा निर्धाणाधीन ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाले आजबाट मुख्य सुरुङमा पानी पठाउने तयारी पूरा गरेसंगै उत्पादन निश्चित भएको हो ।

आयोजनाकै जटिल मानिएको ३१० मिटरको माथिल्लो र ३७३ मिटरको तल्लो भर्टिकल सुरुङको बीचको तर्सो भागमा जडान थालिएको पेनस्टक पाइपको काम सकिएसंगै मुख्य सुरुङमा पानी परिक्षण सुरु गर्न थालिएको हो ।

माथिल्लो तामाकोशी जलबिद्युत आयोजनाको प्रवक्ता डाक्टर गणेश न्यौपानेका अनुसार तेर्सो सुरुङमा २ दशमलव पाँच मिटरको दुईवटा पेनस्टक पाइप जडान कार्य सम्पन भएको छ ।

सुरुको डिजाइन अनुसारको पेनस्टक पाईप बन्न नसक्दा आयोजनाको काम प्रभावित भएको थियो । लट–२ का भारतीय ठेकेदार कम्पनी टेक्स म्याको रेल्वे ईन्जिनियरिङले सुरुको डिजाइन अनुसारको एक्सप्यान्सन जोइन्ट पाईप बनाएर पठाउन नसकेपछि डिजाइन संशोन गरिएको थियो ।

हाल आयोजनाको मुख्य निर्माणअन्तर्गत बाँध, इन्टेक, मुख्य सुरुङ, टेलरेस सुरुङ, विद्युतगृह लगायतका सिभिल संरचनाहरुमा सुरक्षा जाँचको काम भइरहेको छ ।लामाबगरमा निर्माण गरिएको एक सय मिटर लम्बाई र २२ मिटर उचाइ भएको बाँधमा गत बुधबारदेखि पानी भर्न सुरु गरिएकोमा जलाशय पुरै भरेको छ भने बालुवा थिग्राउने पोखरीमा पानी भरी बाँध, इन्टेक लगायतका सिभिल संरचनाहरू र त्यहाँ जडान गरिएका गेट, स्टपलग जस्ता हाइड्रो मेकानिकल उपकरणहरूको सफलतापूर्वक प्राविधिक परीक्षण सम्पन्न भइसकेको छ ।

‘सबै काम सम्पन्न गरि मुख्य सुरुङमा पानी हाली प्राविधिक परीक्षण गर्ने काम बिहिवारदेखि सुरु हुन्छ।’ प्रवक्ता न्यौपानेले भन्नुभयो, ‘पानी भर्ने क्रममा कुनै जटिल समस्या नआएमा ७ देखि ९ दिनभित्र परीक्षण कार्य सम्पन्न गरि विद्यु उत्पादन गर्ने लक्ष्य तय हुन्छ ।’
सिभिल र हाइड्रो मेकानिकल संरचनामा पानी परीक्षण कार्य सफलतापूर्वक सम्पन्न भएपछि मुख्य सुरुङ र पेनस्टकमा जम्मा भएको पानीले भूमिगत विद्युतगृहमा जडान गरिएका ६ वटा टर्बाइन र ६ वटा जेनेरेटरहरूको क्रमैसँग परीक्षण र कमिसनिङ प्रारम्भ हुनेछ ।

यस क्रममा पहिलो युनिटबाट यही वैशाख महिनाभित्र ६७ मेगावाट विद्युत उत्पादन सुरु हुने प्रवक्ता डाक्टर न्यौपानेले जानकारी दिनुभयो । आयोजनामा ७६/७६ मेगावाटका ६ वटा युनिटहरू जडान गरिएको छ । पहिलो युनिटबाट विद्युत उत्पादन भएपछि बाँकी युनिटहरूबाट क्रमशः विद्युत उत्पादन हुने उल्लेख गर्दै उहाँले भन्नुभयो ‘चालू आर्थिक वर्षभित्र सम्पूर्ण निर्माण सम्पन्न गरी ४५६ मेगावाट नै विद्युत उत्पादन हुनेमा आशावादी छौं।’ गोरखापत्र दैनिकबाट साभार

प्रकाशित मिति : April 29, 2021 at 9:29 am