१७ माघ २०८२, शनिबार | Sat Jan 31 2026

सार्वजनिक शिक्षाका लागि लोकदोहोरीः आजकाल स्कुल जान्नौ रे सान्नानी साच्चै हो कि हल्ला सुनेको…

१५ वैशाख, काठमाडाैँ । लोकगायक बद्री पङ्ज्ञेनीले “बोर्डिङतिर हालिछ्यौ छोरी, सरकारीमा के थियो र कमजोरी, मिर्मिमुनी काली थुनेको, आजकाल स्कुल जान्नौ रे सान्नानी साच्चै हो कि हल्ला सुनेको…” भनेपछि लोकगायिका पूर्णकला बीसी र आयुशा गौतमबाट
“कुरा सुन म कता हिँने, पाँच कक्षामा पुगेसी ‘ए’ चिनेँ, खुरुखुरु गैराछु पढ्नलाई गैराछु, तिम्ले झुटो हल्ला सुनेको…” को जवाफ फर्कियो ।

सामुदायिक विद्यालयका कमजोरी र सुधारका पक्षमा गरिएको यो लोकदोहोरी ‘शिक्षाका लागि विश्वव्यापी कार्य सप्ताह २०२१’ का अवसरमा आज शिक्षाका लागि राष्ट्रिय अभियान (एनसीई) नेपालसहित विभिन्न संस्थाको संयोजनमा गरिएको हो ।

भर्चुअलरुपमा आयोजित उक्त कार्यक्रममा गायक बद्री पङ्ज्ञेनी र पूर्णकला बीसीको समूहले शैक्षिक र चेतनामूलक गीतबाट सवालजवाफ गरी सन्देश र मनोरञ्जन प्रदान गरिएको थियो । ‘शिक्षाका लागि पर्याप्त र राम्रो लगानी’ भन्ने नाराका साथ शिक्षाका लागि विश्वव्यापी अभियानले विश्वभर कार्यसप्ताह मनाइरहेको छ । नेपालमा भने शिक्षामा लगानी बढाऔँ भन्ने नाराका साथ मनाइएको छ ।

दोहोरो कार्यक्रमअघि विभिन्न पार्टीका नेता र नीति निर्मार्ताबीच शैक्षिक बहस पनि सञ्चालन गरिएको थियो । कार्यसप्ताहको अभियानमा गैह्रसरकारी संस्था महासङ्घ, अन्तर्राष्ट्रिय गैह्रसरकारी संस्था सञ्जाल, शिक्षा कार्य समूह, सामुदायिक वन उपभोक्ता महासङ्घ, एक्सन एड नेपाल, युथ एड्भोकेसी नेपाल, दलित गैह्रसरकारी संस्था महासङ्घ, नेपाल शिक्षक महासङ्घ, सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ, शिक्षा पत्रकार समाजलगायतले ऐक्यबद्धता जनाएका थिए ।

प्रकाशित मिति : १५ बैशाख २०७८, बुधबार २०:५९