१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

नुवाकोटको बेलकोटगढी नगरपालिकाद्धारा किसानलाई ५० प्रतिशत अनुदानमा हाते ट्रयाक्टर वितरण

१९ असार, नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिकामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले ५० प्रतिशत अनुदानमा आधुनिक कृषि उपकरण किसानलाई दिएको छ । बेलकोटगढी–१० बेलकोटगढीमा रहेको नमूना कृषक सहकारी संस्थामा आबद्ध किसानलाई १२ थान मिनीट्रिलर र तीन थान पावर ट्रिलर प्रदान गरिएको हो ।

नमूना सहकारीमार्फत ९० ट्रयाक्टर वितरण गर्ने कार्यक्रम रहेको नगरपालिकाले जनाएको छ । उत्पादन भएका सामग्री जोख्नका लागि ३६ डिजिटल काँटासमेत प्रदान गरिएको छ । किसानलाई सामग्री प्रदान गरेपछि नगरपालिकाका प्रमुख राजेन्द्ररमण खनालले कृषिबाट बेलकोटगढी नगरपालिका समृद्ध बन्ने भएकाले प्राप्त भएका उपकरणको सही प्रयोग गरेर उत्पादन बढाउन किसानलाई आग्रह गर्नुभयो ।

उत्पादन लागत घटाई बाँझो जमीनमा खेती गराउनका लागि किसानलाई आकर्षित गराउन सहकारीमार्फत आधुनिक प्रविधि हस्तान्तरण गरिएको नगरपालिकाका बागवानी विकास अधिकृत छविलाल शर्माले बताउनुभयो । बजार मूल्यअनुसार ५५ हजार पर्ने मिनीट्रिलर बोलकबोल प्रणालीमार्फत ४१ हजार ५०० मा खरीद गरी किसानलाई ५० प्रतिशत छुटमा प्रदान गरिएको नगरपालिकाले जनाएको छ ।

परियोजनाअन्तर्गत नै बेलकोटगढी –७ रातमाटेका किसानलाई पनि १५ मिनीट्रिलर र पाँच डिजिटल तराजु ५० प्रतिशत अनुदानमा उपलब्ध गराइएको वडाध्यक्ष हेमनिधि नेपालले जानकारी दिनुभयो ।

  

प्रकाशित मिति : १९ असार २०७५, मंगलवार १५:१५