२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

सशस्त्र प्रहरी बलको संघीय संरचना तयार, सीमा सुरक्षा पोष्ट हटाइने

–दीपक रिजाल

१८ असार, काठमाडाैँ । अर्धसैनिक प्रकृतिको सशस्त्र प्रहरी बलको नयाँ संरचना तयार भएको छ । संघिय संरचनामा जाने उद्धेश्यका साथ यो संरचना तयार गरिएको हो । जस अनुसार प्रत्येक प्रदेशमा बाहिनी स्थापना गरिने भएको छ । उपत्यका हेर्न छुट्टै बाहिनी तथा हाल रहेको सिमा सुरक्षा कार्यालयलाई गणमा स्तरोन्नती गर्नुका साथै सवै बोर्डर आउट पोष्टको अनाश्रित संरचना हटाइएको छ । अव विओपी स्थायीबाट अस्थायी प्रकृतिका भएका छन् ।

नयाँ संरचना अनुसार प्रदेश नम्वर १ मा २१ वटा यूनिट रहने भएको छ । जसमा इलाम, झापा, मोरङ, सुनसरी र उदयपुरमा गण स्थापना हुने भएको छ । ती जिल्लामा १४ वटा गुल्म रहने भएको छ । जसमा दुइ वटा भन्सार गुल्म, दुई उद्योग र दुइ वटा आश्रित गुल्म रहने भएको छ । सोही प्रदेशमा एक शिक्षालय समेत रहने भएको छ । नयाँ संरचना अनुसार हाल रहेका पाथिभरा गण झापा, कंकालिनी गण मोरङ, सिद्धकाली गण सुनसरी तथा औद्योगिक सुरक्षा गण समेत समायोजनमा परेको छ । समायोजनामा परेको मध्य पाथिभरा गण झापा जवान तालीम शिक्षालयको रुपमा रुपान्तरण भएको छ ।

यस्तै प्रदेश नम्वर २ मा १५ वटा यूनिट रहने भएको छ । जसमा बाहिनी एक, शिक्षालय एक, गण आठ, भन्सार गुल्म दुइ, उद्योग गुल्म दुइ तथा राजस्व गुल्म एक रहने भएको छ । नयाँ संरचना अनुसार रुद्र बाहिनी , दन्तकाली गण सप्तरी, छिन्नगस्ता गण महोत्तरी र भद्रकाली गण बारा समायोजनमा परेका छन् । हाल रहेको रुद्र बाहिनीलाई छिन्नमस्ता गण महोत्तरीमा स्थानान्तरण गरिने भएको छ । यस्तै रुद्र बाहिनी रहेको स्थानमा भण्डार महाशाखालाई ल्याइने भएको छ ।

यस्तै प्रदेश नम्वर तीनमा बाहिनी सहित चार गण, तीन गुल्म, दुइ भन्सार गुल्म, एक उद्योग गुल्म र तीन आश्रित गुल्म गरी १६ वटा यूनिट रहनेछन् । जस अनुसार मकवानपुर, काभ्रे, सिन्धुपाल्चोक र चितवनमा गण स्थापना हुने भएको छ । नयाँ संरचना अनुसार हाल चितवनमा रहेको गढिमाइ गणलाई समायोजन गरिने भएको छ । यसलाइ प्रदेश भण्डारका रुपमा रुपान्तरण गरिने भएको छ । उपत्यकामा छुट्टै बाहिनी सहित एक प्राबिधिक शिक्षालय, पाँच गण र पाँच गुल्म स्थापना गरिने भएको छ ।

शशस्त्रले प्रधान कार्यालय सुरक्षाका लागि छुट्टै गुल्म स्थापना गरिने भएको छ । यस अघि प्रधान कार्यालयको सुरक्षा बंगलामुखी बिशेष कार्यदल गणले गर्दै आएको थियो । नयाँ संरचना अनुसार बाघभैरब गुल्म समायोजनमा परेको छ भने हाल स्टाफ कलेज रहेको ठाउँमा बाहिनी स्थापना गरिने भएको छ । तर, उपत्यकामा छुट्टै बाहिनी स्थापना भएपछि महानगरिय आयुक्तको कार्यालय र हालको उपत्यका सुरक्षा कार्यालय के हुने भन्ने प्रष्ट व्यवस्था गरिएको छैन ।

यस्तै प्रदेश नम्वर चारमा एक बाहीनी सहित तीन गण तीन आश्रित र एक उद्योग सहित नौ वटा गुल्म स्थापना हुनेभएको छ । यसबाट हाल पोखरामा रहेको तालीम महाविद्यालय हुल तथा दगां व्यवस्थापन तालिम शिक्षालय हुने भएको छ । प्रदेश नम्वर पाँचमा नयाँ बाहिनी सहित २१ यूनिट रहनेछन् । जसमा ६ वटा गण तीन भन्सार, दुइ उद्योग, तीन आश्रित र एक राजस्व १२ वटा बाहिनी स्थापना हुनेछन् ।

नौवस्त बाँकेमा अवस्थित शशस्त्र प्रहरी वल जवान तालिम शिक्षालयलाइ प्रदेश नम्वर ७ मा स्थानान्तरण गरी त्यस स्थानमा शिक्षालय स्थापना गरिने भएको छ । हाल रहेको विन्ध्यावासिनी गण कपिलबस्तु, ज्वालामाइ गण दाङ, बागेश्वरी गण र त्रिपूरा गण समायोजन गरिनेछ ।
प्रदेश नम्वर ६ मा एक बाहिनी सहित दुइ गण चार आश्रित र एक उद्योग सहित नौ वटा गुल्म रहने भएको छ । सुदुरपश्चिम स्थित प्रदेश नम्वर ७ मा एक बाहिनी सहित तीन गण, भन्सार दुइ, आश्रीत दुइ स्थापना गरिने भएको छ ।

नयाँ संरचना अनुसार हाल रहेको बडिमालीका गण कैलाली, उग्रतारा गण कैलाली र शैलेश्वरी गण कञ्चनपुर समायोजन हुनेछन् । सशस्त्र प्रहरी बलले तयार पारेको संरचना अनुसार इकाइगत सरुवा प्रणाली लागु गर्ने, वृत्तिबिकासमा न्यायोचित सन्तुलन ल्याउने, चेन अफ कमाण्डलाइ मजबुत तुल्याउने, परिचालनलाइ प्रदेशगत रुपमा सन्तुलित र व्यवस्थित बनाउने लगायतका आवश्यकता औंल्याइएको छ ।

यस्तै सात वटै प्रदेशमा तालिम शिक्षालय स्थापना गर्ने लक्ष्य रहेकोमा हाललाई दरवन्दी सिमितताको कारण बिद्यमान पाँच वटा तालिम शीक्षालयलाइ निरन्तरता दिइने तयारी थालिएको छ । यस्तै छुट्टै दरवन्दी सृजना नभएको तालिम शिक्षालयलाई हालकै दरबन्दीबाट कर्मचारी परिचालन गरिनेछ ।

यस्तै सशस्त्रको फर्मसन तथा इकाइ संख्यामा फेरबदल भएको छ । जस अनुसार १३ जनाको सेक्सनलाइ १०, ४६ जना रहने प्लाटुनलाइ ३५, एक सय ६० जना रहने फाइटिङ कम्पनी एक सय १४, दुइ सय ३६ जना रहने अनाश्रित गुल्मलाई एक सय ६०, सात सय ६१ जना रहने गणलाई ६ सय २१, एक सय २६ जना रहने तालीम शिक्षालयमा एक सय ७६ जना रहनेछन् । यसैगरी, एक सय ६४ जना रहने बाहिनीमा तीन सय ३५ रहनेछन् । यस्तै वाहिनी पाँच बाट आठ, शिक्षालय पाँचबाट १० , गण २७ वाट ३६ , गुल्म ३८ वाट ५६ तथा २१ सिसुका र ८७ विओपीको अनाश्रित संरचना हटेको छ । –नेपाल समाचारपत्र दैनिकबाट ।

प्रकाशित मिति : १८ असार २०७५, सोमबार ०८:०७