५ मंसिर २०८१, बुधबार | Wed Nov 20 2024

नेपाल बैंकको डिजिटल अभियान, एकै दिन एक सय अठार फोन पे को क्यू आर स्टेन्ड वितरण

१७ फागुन, काठमाडाैँ । नेपाल बैंक लिमिटेड पाल्पा शाखाको आयोजनामा डिजिटल पाल्पा अभियान अन्तर्गत एकै दिन एक सय अठार (११८) जनालाई फोन पे को क्यू आर स्टेन्ड वितरण कार्यक्रम सम्पन्न भएको छ । ढाका कपडा व्यवसायी, कृषक, कानुनी सेवा व्यवसायी, सहकारी संस्था, विद्यालय, बाईक मर्मत पसल, होटल रेष्टुरेन्ट लगायत विविध क्षेत्रका व्यवसायीहरुलाई क्यू आर स्टेन्ड वितरण गरिएको उक्त कार्यक्रममा तानसेन नगरपालिकाका मेयर अशोक कुमार शाखीको प्रमुख आतित्थ्यता रहेको थियो ।

कार्यक्रममा बोल्दै मेयर शाहीले अब व्यवसायमा क्यासलेस कारोबारका कारण छिटो, छरितो र सरल रुपमा कारोबार गर्न सकिने भएकाले सबैले यसको प्रयोगलाई बढाउनुपर्ने र यसको लागि तानसेनका बैंक तथा वित्तीय संस्थाहरुले यस किसिमको जागरणका कामहरु गर्नुपर्ने कुरामा जोड दिनु भयो ।

कार्यक्रमका विशिष्ठ अतिथि नेपाल राष्ट्र बैंक सिद्धार्थनगरका उपनिर्देशक रमेश न्यौपानेले नगदको प्रयोग गर्दा जोखिम हुने, पैसा छिटो झुत्रो हुने भएकाले राज्यको खर्च पनि बढ्ने हुँदा नेपाल बैंकद्वारा संचालन गरिने फोनपे को क्यू आर प्रयोगबाट नगद रहित कारोबार बढ्न जाँदा यसले समग्र रुपमा देशलाई नै फाइदा पुग्ने बताउनु भयो ।

शाखा प्रबन्धक सुरज घिमिरेको अध्यक्षता रहेको उक्त कार्यक्रममा नेपाल बैंक लिमिटेड, लुम्बिनी प्रादेशिक कार्यालयका प्रमुख पासाङ् दोर्जी शेर्पा, मुख्य प्रबन्धक लेखनाथ भुषाल, उद्योग वाणिज्य संघ, पाल्पाका अध्यक्ष राजु महर्जन, पाल्पा व्यापार संघका सदस्य नारायण वस्याल लगायतले नगदरहित कारोबारमा जोड दिनुपर्ने बताउनु भयो । कार्यक्रम लक्ष्मी शर्माको स्वागत तथा शिवसुन्दर पोखरेलको सञ्चालनमा होटल पौवा, तानसेनमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : १७ फाल्गुन २०७७, सोमबार १६:५५