भर्ने हाेइन त ? महिला लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
५ फागुन, काठमाडाैँ । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडकाे साधारण सेयर (आइपिओ) मा आवेदन दिने आज (फागुन ५ गते) अन्तिम दिन रहेकाे छ । यसअघि फागुन ४ गतेसम्म आवेदन दिन पाइने भनिएकाेमा माघ ३० गते, शुक्रबार सार्वजनिक बिदा परेकाे हुनाले एक दिन समय थप गरिएकाे हाे । लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ४ कराेड रूपैयाँ बराबरकाे ४ लाख कित्ता साधारण सेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे हाे ।

जसमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात ५ हजार कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात २० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि र ३ लाख ७५ हजार कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको छ । न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । लघुवित्तको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । यसका साथै मेरो शेयरबाट पनि आवेदन दिन सकिनेछ ।
लघुवित्तकाे आइपिओका लागि माग गरिएकाे ३ लाख ७५ हजार कित्ता भन्दा ५९.९५ गुणा धेरै आवेदन परेकाे छ । लघुवित्तको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडका अनुसार मंगलबार बेलुकासम्ममा १४ लाख ४४ हजार ५ सय ८८ जना आवेदकले २ अर्ब २४ करोड ८२ लाख ७२ हजार रुपैयाँ बराबरको २ करोड २४ लाख ८२ हजार ७ सय २० कित्ताका लागि आवेदन दिएका छन् ।
प्रकाशित मिति : ५ फाल्गुन २०७७, बुधबार १०:०३













