५ चैत्र २०८२, बिहीबार | Thu Mar 19 2026

भर्ने हाेइन त? माघमा  २ कम्पनिले आइपिओ निष्काशन गर्ने

१९ माघ, काठमाडाैँ । माघमा  २ कम्पनिले सर्वसाधारणका लागि साधारण सेयर (आइपिओ) निष्काशन गर्ने भएका छन्। ग्रीन लाइफ हाइड्रो पावर र महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले माघमा आइपिओ निष्काशन गर्ने भएका हुन् । ग्रीन लाइफ हाइड्रो पावरले माघ २३ गतेदेखि साधारण सेयर (आइपिओ) निष्काशन गर्ने भएकाे छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३४ करोड ९६ लाख ४० हजार रूपैयाँ बराबरको ३४ लाख ९६ हजार ४ सय कित्ता साधारण शेयर (आईपिओ) निष्कासन तथा बिक्री खुल्ला गर्न लागेको हो । जसमध्ये १ लाख ७४ हजार ८२० कित्ता सेयर सामूहिक लगानी कोषका लागि, ६९ हजार ९ सय २८ कित्ता कर्मचारीहरुका लागि र बाँकी ३२ लाख ५१ हजार ६ सय ५२ कित्ता सर्वसाधारणहरुका लागि निष्कासन गर्न लागिएको हो । लगानीकर्ताले न्युनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीकाे उक्त आईपिओमा छिटोमा माघ २७ गतेसम्म र ढिलोमा फागुन ७ गतेसम्म आवेदन दिन सकिने छ । कम्पनीको आईपिओ निष्कासन तथा बिक्री प्रबन्धकको काम बिओके क्यापिटल मार्केट लिमिटेडले गर्नेछ । केयर रेटिङ्ग नेपालले कम्पनीलाई ‘केयर एनपी बी प्लस (आइएस)’ रेटिङ्ग प्रदान गरेको छ । यसले समयमा नै वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा उच्च जोखिममा रहेको संकेत गर्दछ ।

त्यस्तै महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले माघ २८ गतेदेखि सर्वसाधारणका लागि साधारण सेयर (आइपिओ) निष्काशन गर्ने भएको छ।  लघुवित्तले जारी पूँजीको ४० प्रतिशतले हुन आउने ४ करोड बराबरको प्रति सेयर १ सय रुपैयाँ दरका ४ लाख कित्ता साधरण सेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गर्न लागेको हो ।

जसमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात् ५ हजार कित्ता सेयर कर्मचारीहरुको लागि, ५ प्रतिशत अर्थात् २० हजार कित्ता सेयर नागरिक लगानी कोषका लागि र बाँकि कित्ता ३ लाख ७५ हजार कित्ता साधरण सेयर सर्वसाधारणहरुको लागि सार्वजनिक निष्काशन गर्नेछ । सो आईपीओमा छिटोमा फागुन २ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिभरीमा पूर्ण आवेदन नपरेमा फागुन १२ गतेसम्म निष्काशन खुला गरिने लघुवित्तले जनाएको छ।

लगानीकर्ताले न्युनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् । कम्पनीकाे उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडले गर्नेछ । इन्क्रा रेटीङ् नेपालले उक्त आइपिओलाई इन्क्रा एनपी डबल बि रेटीङ् प्रदान गरेको छ यसले वित्तीय दायित्व पुरा गर्ने सन्दर्भमा मध्ये जोखिम रहेको देखाउँछ ।

प्रकाशित मिति : २१ माघ २०७७, बुधबार १३:०५