२० आश्विन २०८१, आईतवार | Mon Oct 7 2024

राष्ट्रिय महिला फुटबल: वालिङ चौँथो स्थानमा उक्लियो

२० माघ, काठमाडाैँ । राष्ट्रिय महिला लिग फुटबलअन्तर्गत आज भएको खेलमा स्याङ्जाको वालिङ नगरपालिकाले रौतहटको चन्द्रपुर नगरपालिकालाई पराजित गर्दै लिगको चौथो स्थानमा उक्लिएको छ ।ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा वालिङले चन्द्रपुरलाई ३–० गोलअन्तरले हराएको हो ।

वालिङ ६ खेलबाट ८ अङ्क जोड्दै चौथो स्थानमा उक्लिएको हो । वालिङका लागि विदेशी खेलाडी मेथो एलुड रुथले दुई तथा टोउटा नोइल्लीले एक गोल गर्नुभयो । खेलको ३७औँ मिनेटमा टोउटा नोइल्लीले पहिलो गोल गर्नुभएको थियो । खेलको ४४औँ मिनेटमा मेथो एलुड रुथले वालिङका लागि दोस्रो गोल गर्नुभयो । यस्तै खेलको ५४औँ मिनेटमा रुथले व्यक्तिगत दोस्रो गोल गर्नुभयो ।

चन्द्रपुर ६ खेलमा ३ अङ्कका साथ लिगको छैटौँ स्थानमा छ । यस्तै एपीएफ क्लब ६ खेलबाट १८ अङ्क जोड्दै लिगको पहिलो स्थानमा तथा आर्मी क्लब १० अङ्कका साथ दोस्रो स्थानमा छ । चौदण्डीगढी नगरपालिका अङ्कविहीन रहँदै लिगको पुछारमा रहेको छ । लिगमा बुधबार पहिलो खेल चौदण्डीगढी र त्रिभुवन आर्मी फुटबल क्लबबीच तथा दोस्रो खेल नेपाल पुलिस क्लब र विराटनगर महानगरपालिकाबीच हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ ।

प्रकाशित मिति : २० माघ २०७७, मंगलवार २१:०५