२० आश्विन २०८१, आईतवार | Mon Oct 7 2024

सरकारले खेलकुद क्षेत्रको लगानीलाई बहुउत्पादनमुखी उपलब्धीको रुपमा लिएको छः प्रधानमन्त्री ओली

२० माघ, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय खेलकुद परिषद्लाई अन्तराष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुने खेलाडी छनौट गर्दा पक्षधरता बिना छनौट गर्न सुझाव दिनुभएको छ । राष्ट्रिय खेलकुद परिषद्ले मंगलबार काठमाण्डौमा गरेको खेलकुदसंग प्रधानमन्त्री अन्तरक्रियालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पक्षधरता विना नै प्रशिक्षक छनौट गर्ने काम परिषद्को भएको र प्रशिक्षक एवं खेलका लागि खेलाडी चयन गर्दा स्वर्ण पदकलाई मात्रै प्राथमिकतामा राख्नुपर्ने बताउनुभएको हो ।

विगतमा जित्न सक्ने खेलाडी छनौटमा नपरेका गुनासो आएको दृष्टान्त दिदै उहाँले पदाधिकारी र छनौटकर्ताहरुलाई तालिम देखि खेलप्रतियोगिता सम्मका खेलाडी छनौटमा भेदभाव नगर्न सुझाव दिनुभयो । उहाँले गत बर्ष नेपालले सागमा प्राप्त गरेको सफलता निकै ठूलो उपलब्धि भएको भन्दै जुनसुकै खेल पनि पदक पाउने गरि खेल्नुपर्ने बताउनुभयो ।

सरकारले खेलकुद क्षेत्रको लगानीलाई बहुउत्पादनमुखी उपलब्धीको रुपमा लिएको स्पष्ट पार्नुभयो । अभ्यासलाई जित्ने तहमा उठाउनु जरुरी रहेको भन्दै उहाँले राम्रो प्रशिक्षक र आधुनिक प्रविधि प्रयोग गर्न सुझाव दिनुभयो । खेलकुद क्षेत्र उत्पादक कि अनुत्पादक भनी चर्चा हुने गरेको प्रसंग उल्लेख गर्दै उहाँले बिजयी भएर पदक ल्याउँदा देशको गौरव बढाउने भएकाले खेल क्षेत्रको लगानी बेकार र अनुत्पादक नभएको बताउनुभयो ।

हारजीतको ठूलो महत्व रहेको भन्दै उहाँले नेपाल कहिलेही नहारेको देश रहेकाले खेल पनि जीतका खेल्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो “लडाईमा नहार्ने देश यत्रा यत्रा डल्ला संग किन हार्नै? खेल भन्या केहो ? एउटा भकुण्डो नै हान्ने त हो नि ।

किन हार्ने ? क्रिकेटमा एउटा वल हान्ने हो त्यसमा किन हार्ने ? सितेरियो, कराँते, कम्भु र भारत्तोलन, किन हार्ने ? ” अशान्ति जीत र हारका आधारमा हुने भन्दै उहाँले भन्नुभयो “संसद भंग भईसक्यो चुनाव हुन लागिसक्यो,हुनुहुदैन भनेर कराईरहेका छन् त्यो जीतका लागि हो ।”
उहाँले जीतका लागि अतिआवश्यक,अपरिहार्य र न्युनतम आवश्यकता परिपुर्ति गर्ने गरि सरकारले खेल क्षेत्रलाई सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।

पछिल्लो समय आवश्यक सामान किन्नका लागि नभई राम्रो देखिएको सामान किन्नका लागि ‘सपिङ’मा निस्कने चलन देखिएको भन्दै उहाँले भन्नुभयो “चाहिएको कपडा/सामान किन्नका लागि होइन, राम्रो देख्यो उठायो । सरकारले सपिङका लागि होइन,चाहिएको सामान किन्नका लागि सहयोग गर्न सक्छ । गच्छेअनुसारको सहयोग गर्छ । अगामी बर्ष पहिलेको बजेट भन्दा बढेर आउँछ । ”

नेपालको भूगोल अनुसारको खेल उत्पादन गरि प्रतियोगिताहरुमा त्यस्ता खेललाई सहभागी गराउन परिषद्लाई सुझाव दिनुभयो । खर्चको कमि भयो भनेर सहभागीता नै गुमाउने अवस्था आउन नदिने तर्फ पनि सचेत हुन उहाँले सुझाव दिनुभयो । उहाँले खेल जित्ने गरी तयारी गर्नुको साथै अत्याधिक सहभागीता गराउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले कोभिड १९ को संक्रमणको जोखिम न्यून हुदै आएको भन्दै उहाँले अब अन्य क्षेत्र जस्तै खेलकुल क्षेत्र पनि छिटै पुरानै लयमा फर्कने विश्वास व्यक्त गर्नुभयो । उहाँले खेल क्षेत्रमा सरकारको सधै सहयोगी भूमिका रहने विश्वास दिलाउनुभयो । प्रधानमन्त्री ओलीले राष्ट्रिय अन्तराष्ट्रिय प्रतिष्पर्धामा मात्रै नभई खेललाई स्वास्थ्य र सामान्य जीवनको अंग बनाउनुपर्ने बताउनुभयो । खेललाई सबैले प्रतिरोध क्षमता वृद्धि गर्न र सामाजिक संस्कृति र जीवनपद्धतिको रुपमा स्थापित गर्नुपर्ने बताउनुभयो ।

आरोग्यता, निरोगी र स्वस्थ्य जीवन जीउनका लागि हरेक उमेरका मानिसहरुले आफ्नो अनुकुलका खेलहरु खेल्नुपर्ने बताउनुभयो । प्रधानमन्त्रीले विषयगत केन्द्रीत भएर गरिने खेलले स्वास्थ्यलाई राम्रो बनाउने बताउनुभयो । केही कठिनाई भएपनि खेलकुदले मान्छेको श्रम शक्तिलाई बढाउनुको साथै बहुपक्षीय फाइदा पु्याउने भएकाले सामाजिक व्यवहार र आचरणको रुपमा खेलकुदलाई जीवन पद्धती नै बनाउनुपर्नेमा जोड दिनुभयो । खेलकुदहरु सामान्य र विशिष्टिकृत भएको उल्लेख गर्दे उहाँले राष्ट्रिय, क्षेत्रिय र अन्तराष्ट्रिय रुपमा नै यसलाई प्रतिष्पर्धात्मक रुपमा अघि बढाउदै लैजानुपर्ने बताउनुभयो ।

कार्यक्रममा परिषद्का सदस्य सचिव रमेश सिलवालले सरकाररले खेलकुदमा लगानी बढाउनुपर्ने र त्यसले परिणाम पनि राम्रो निस्कने बताउनुभयो । हरेक जनताको बीचमा खेलकुद पु्याउनु आवश्यक रहेको भन्दै उहाँले सरकारले भौतिक पुर्वाधार, तालिम लगायतमा लगानी गर्नु आवश्यक रहेको बताउनुभयो । उहाँले उत्पादक क्षेत्रको रुपमा खेलमा राज्यले लगानी गरेमा आफुहरुले त्यसको सही परिणाम दिन तयार रहेको बताउनुभयो ।

प्रश्न उत्तर

प्रत्येक प्रदेशमा एउटा रंगशाला बनाउने विषयका सम्बन्धमा गरिएको प्रश्नमा उहाँले सातै प्रदेशमा एक ÷एक वटा रंगशाला बनाउने काममा केही मान्छेहरुले अवरोध श्रृजना गरेको बताउनुभयो । रंगशाला बन्यो भने त्यसको जस आफुमा जाने डरले विकास विरोध केही मान्छेहरुले लगातार विरोध गरेकाले केही अवरोध देखिएपनि चुनाव पछिको बजेटमा रंगशाला निर्माणको कुरालाई ध्यान दिने स्पष्ट पानुभयो ।

मुलपानी क्रिकेट रंगशाला कहिले सम्पन्न हुन्छ भन्ने प्रश्नमा उहाँले ‘दुई बर्ष भईसक्यो अझै भएको छैन ? भन्दै अनविज्ञता देखाउनुभयो ।
कर्मचारी बढुवा तथा नया भर्नाका सम्बन्धमा भने उहाँले आवश्यकता अनुसार नया दरबन्दी श्रृजना गरी नियुक्ति दिने बताउनुभयो । अस्थायी कर्मचारीको सम्बन्धमा यथार्थ रिपोर्ट उपलब्ध गराउन खेलकुद मन्त्रीलाई निर्देशन दिनुभयो । त्यसबारे रिपोर्ट आएपछि आफुले निर्णय गर्ने उहाँले स्पष्ट पार्नुभयो ।

प्रकाशित मिति : २० माघ २०७७, मंगलवार १६:२९