१३ आश्विन २०८१, आईतवार | Mon Sep 30 2024

यूएन महासचिव गुटेर्रेसले लगाए कोरोनाविरुद्धको खोप

१६ माघ, न्युयोर्क । संयुक्त राष्ट्र सङ्घ (यूएन) का महासचिव एन्टोनियो गुटेर्रेसले बिहीबार न्युयोर्कमा कोरोना भाइरसविरुद्धको खोपको पहिलो डोज लगाएका छन् । संयुक्त राष्ट्रको आधिकारिक वेबसाइटमा प्रकाशित एक रिपोर्टले यसको जानकारी दिएको छ । गुटेर्रेसले आफ्नो ट्वीटरमार्फत आफू भाग्यशाली र कृतज्ञ भएको बताउँदै यस कुराको जानकारी दिएका हुन् । साथै उनले अन्तर्राष्ट्रिय समुदायलाई खोप सबैका लागि यथोचित रूपमा उपलब्ध गराउनका लागि सुनिश्चित गर्नुपर्ने बताएका छन् ।

‘यस महामारीबाट हामी कोही पनि सुरक्षित छैनौँ, त्यसैले हामीले विश्वका जति देशलाई यो महामारीले सताएको छ त्यहाँ यो खोप पुगोस् भनि कामना गर्दछौँ’, गुटेर्रेसले लेखेका छन् । उमेरका आधारमा खोप लिन आफू योग्य भएको पनि ७१ वर्षीय गुटेर्रेसले बताएका छन् । न्युयोर्कका ६५ वर्षभन्दा माथिका बासिन्दाहरूलाई यो खोपको पहिलो चरणमा समावेश गरिएको छ ।

यस खोप अभियानमा विद्यालयका कर्मचारी पनि समावेश भएका छन् । प्रतिक्रियाकर्ताहरू, सार्वजनिक ट्रान्जिट काम गर्नेहरू र किराना पसलमा काम गर्ने कामदारहरू पनि यो खोप अभियानमा समावेश गरिएको त्यस रिपोर्टले जनाएको छ । गुटेर्रेसले गएको महिनामात्र यो खोप आफूले पनि लगाउने घोषणा गरेका थिए । वृद्धवृद्धाका लागि खोप झन् असुरक्षित हुन्छ कि भन्ने त्रास रहेकाले उनले खोप लगाउने घोषणा गरेका हुन् ।

प्रकाशित मिति : १६ माघ २०७७, शुक्रबार १५:५६