११ भदौ २०८३, बिहिबार | Thu Aug 27 2026
http://kk5.io/NADA2026

आजदेखि कोरोनाविरुद्धको खोप लगाइँदै

१४ माघ, काठमाडाैँ । नेपालमा कोरोना भाइरसविरुद्धको खोप अभियान आजबाट सुरु हुँदैछ । पहिलो चरणमा कोरोनाविरुद्धको अभियानमा अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मीलगायतलाई खोप दिइने छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाट भर्चुअल रुपमा एकै पटक काठमाडौँका ११ वटा अस्पतालमा यो अभियान सुरु गर्नुहुने छ।

काठमाडौँका ११ वटा अस्पतालका स्वास्थ्यकर्मीले एकैपटक खोप लगाउने स्वास्थ्य मन्त्रालयका कोभिडविरुद्धको इन्सिडेन्ट कमाण्ड सिस्टमका प्रमुख डा. गुणराज लोहनीले बताउनुभयो। ‘आफ्ना अस्पतालमा कसबाट खोप शुभारम्भ गर्ने भन्नेमा उनीहरु स्वतन्त्र छन्’ उहाँले भन्नुभयो ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, वीर अस्पताल, आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र अस्पताल, कीर्तिपुर, पाटन अस्पताल, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल, त्रिवि शिक्षण अस्पताल, भक्तपुर अस्पताल, शहीद धर्मभक्त अंग प्रत्यारोपण केन्द्र, काठमाडौँ मेडिकल कलेज, जोरपाटी, सशस्त्र प्रहरी अस्पताल, बलम्बु, शहीद गंगालाल अस्पतालका स्वास्थ्यकर्मीले एकै पटक खोप लगाउनेछन् ।

स्वास्थ्य सेवा विभागका अनुसार पहिलो चरणमा कोरोना भाइरस रोकथाममा अग्रपंक्तिमा खटिने ४ लाख ३० हजार जनाले खोप लगाउन पाउनेछन् । सात प्रदेश र काठमाडौँ उपत्यकाका गरी ६२ वटा अस्पताल र ७७ जिल्लाका ३०० भन्दा बढी केन्द्रबाट खोप अभियान सुरु हुनेछ । एउटा खोप बुथले एक दिनमा १२० देखि १२५ जनालाई खोप दिनसक्ने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतम बताउनुभयो। खोप अभियानका लागि सबै प्रदेशहरुमा खोप पुगिसकेको छ ।

प्रकाशित मिति : January 27, 2021 at 8:47 am