११ जेष्ठ २०८३, सोमबार | Tue May 26 2026

साझा प्रकाशनको सम्पत्ति लिलामीबाट जोगियो

७ असार, काठमाडाैँ । साझा प्रकाशनको पुल्चोकस्थित भौतिक सम्पत्ति लिलामी हुनबाट जोगिएको छ । प्रकाशनले राष्ट्रिय सहकारी बैंकलाई साँवा तथा ब्याज गरी आज रु पाँच करोड ३० लाख १९ हजार २१६ भुक्तानी गरेकाले लिलामी हुनबाट जोगिएको साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त रकम अर्थमन्त्रालयको सहयोगमा भुक्तानी गरिएको हो ।

तत्कालीन व्यवस्थापकले २०६९ फागुनमा प्रकाशनको केन्द्रीय कार्यालय रहेको जग्गा धितोमा राखी राष्ट्रिय सहकारी बैंक लिबाट एक वर्षको भाखा लिई रु चार करोड ६० लाख कर्जा लिएको थियो । संस्थाको आर्थिक असन्तुलनका कारण उक्त कर्जा तोकिएको समयावधिभित्र साँवा र ब्याज भुक्तानी गर्न सकिएको थिएन । बैंकबाट धितो लिलामी गरी कर्जा असुली गर्न पटक–पटक सूचना प्रकाशित गरिएको थियो ।

अध्यक्ष तथा महाप्रबन्धक शर्माका अनुसार साझा प्रकाशनद्वारा बैंकको ब्याजबापत रु दुई करोडभन्दा बढी रकम यसअघि नै भुक्तानी गरिसकिएको थियो । उहाँले लामो समयदेखि जेलिएको आर्थिक दायित्व तथा समस्यालाई क्रमिक रूपमा व्यवस्थापन गर्दै संस्थालाई समृद्ध र सबैको साझा चौतारीका रूपमा अगाडि बढाउन विभिन्न २६ बुँदे साझा प्रकाशन सुधार कार्ययोजना कार्यान्वयन भइरहेको जानकारी पनि दिनुभयो ।

प्रकाशित मिति : June 21, 2018 at 8:41 pm