४ चैत्र २०८२, बुधबार | Thu Mar 19 2026

नेप्सेमा नयाँ रेकर्ड कायम, ९ अर्ब बढीको कारोबार

११ माघ, काठमाडाैँ । साताको पहिलो कारोबारकाे दिन नेप्से परिसूचक र कारोबार रकम दुबैमा नयाँ रेकर्ड कायम भएको छ। आज सेयर बजारले २४ सयको बिन्दु पार गरी नयाँ रेकर्ड कायम गरेको हो । आइतबार नेप्से परिसूचक ५०.२० अर्थात २.११ प्रतिशत बढेर २४२४.८४ विन्दुमा पुगेको छ। यो अहिलेसम्मकै उच्च विन्दु रहेकाे छ ।

यस्तै सेन्सेटिभ परिसूचक पनि ६.४७ अंकले बढेर ४५२.०६ अंकमा पुगेको छ । कुल २ सय ७ वटा कम्पनीको १ करोड ९३ लाख ७९ हजार ४२ कित्ता सेयर खरिदबिक्री हुँदा ९ अर्ब ३७ करोड ६० लाख ५३ हजार २२० रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

कारोबार रकमका आधारमा आज नेपाल लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। यस इन्स्योरेन्सकाे आज  ६६ करोड ८२ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, आज नेपाल पुनर्बीमा कम्पनी र नेपाल दूरसञ्चार कम्पनीको ३० करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ। आज कारोबार भएका कूल १२ उपसमूहमध्ये ११ वटा उपसमूहहरुको सेयर बढेको छ, भने बाँकी १ वटा मात्र उपसमुहको सेयर घटेको छ ।

प्रकाशित मिति : ११ माघ २०७७, आईतवार १६:२४