१७ आश्विन २०८१, बिहीबार | Thu Oct 3 2024

हवाई उडानलाई विकेन्द्रीकरण गर्छाैः मन्त्री ढकाल

२५ पुस, विराटनगर । संस्कृति, पर्यटन, तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले विराटनगरबाट लुक्ला लगायतका प्रादेशिक उडानका विषयमा विकेन्द्रीकरण गर्ने बताउनुभएको छ । उद्योग सङ्गठन मोरङ र मोरङ व्यापार सङ्घद्वारा आज यहाँ आयोजित पर्यटन व्यवसायीका समस्या एवं छलफल कार्यक्रममा उहाँले निजगढ, लुम्बिनी र सुदूरपश्चिम क्षेत्रको भ्रमणपश्चात् यस सम्बन्धमा आवश्यक नीतिगत निर्णय गरी पहल गर्ने जानकारी दिनुभयो ।

मन्त्री ढकालले कोभिड महामारीले पर्यटन व्यवसायी धरासायी भएको सम्बन्धमा अवगत भएको बताउँदै उनीहरुलाई दुःख र अप्ठ्याराको समयमा अभिभावक छ भन्ने अनुभूति गराई सकारात्मक ढङ्गले समस्या समाधानमा प्रयत्न गर्ने विश्वास दिलाउनुभयो । उहाँले वर्तमान सरकारले धार्मिक पर्यटनमा मुख्यरुपमा ध्यान केन्द्रित गरेको बताउँदै पशुपतिनाथमा आउने भारतीय र लुम्बिनीमा आउने चिनियाँ पर्यटकलाई विश्वासिलो वातावरण पु¥याउन निजी क्षेत्रको सहयोगमा कार्य गर्ने धारणा राख्नुभयो ।

छलफल कार्यक्रममा सङ्गठनका अध्यक्ष भीम घिमिरे, सङ्घका अध्यक्ष प्रकाश मुन्दडा, पर्यटन व्यवसायी भविष श्रेष्ठ, तुलसी पोखरेल, होटल व्यवसायी पुण्य भट्टराईले भारतीय पर्यटकको आवागमनका लागि व्यवस्थितरुपमा सीमा खोल्नुपर्ने, प्रादेशिक र छिमेकी राष्ट्रमा एटिआर विमानबाट उडान सञ्चालन गर्नुपर्ने, होटल व्यवसायीलाई बैंक व्याजमा सरकारले सहयोग उपलव्ध गराउनुपर्ने, सुनसरीको बराहक्षेत्रमा धार्मिक मेला सञ्चालन गर्नुपर्ने, भारतीय सवारी साधनमा आएका पर्यटकलाई प्रहरीबाट हुने दुःख हटाउनुपर्ने लगायतका सुझावलाई समाधान गर्न आग्रह गर्नुभएको थियो । रासस

प्रकाशित मिति : २५ पुष २०७७, शनिबार १९:५१