३ आश्विन २०८१, बिहीबार | Thu Sep 19 2024

साना उद्योगको विकास नहुँदासम्म रोजगारी बढाउन सकिन्नः अध्यक्ष गोल्छा

२३ मंसिर, काठमाडाैँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले साना तथा मझौला उद्योगको विकास र विस्तार नभएसम्म रोजगारीका अवसरहरु बढाउन नसकिने बताउनुभएको छ । ललितपुर उद्योग वाणिज्य संघले मंगलबार आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष गोल्छाले साना तथा मझौला उद्योगको विकास र विस्तार नभएसम्म देशमा रोजगारीका अवसरहरु बढ्न नसक्ने बताउनुभएको हो ।

त्यसैले महासंघले साना र मझौला उद्योग व्यवसायलाई प्रवद्र्धन गर्ने उद्देश्यले सहजै कर्जा उपलब्ध गराउने विषयमा काम गर्ने बताउनुभयो । महासंघले एक सय दिन भित्रमा तयार पार्ने कार्यविधिमा यो विषयलाई प्राथमिकताका साथ समावेस गरी कार्यान्वयनमा लगिने पनि उहाँले बताउनुभयो । यस्तै कृषि क्षेत्रमा रहेको परम्परागत उत्पादनलाई प्रतिस्थापन गरी बढी फाइदा दिने वस्तुहरुको उत्पादन गर्ने तर्फ किसानहरुलाई प्रोत्साहन गर्ने सम्बन्धमा समेत महासंघले काम गर्ने अध्यक्ष गोल्छाले बताउनुभयो ।


महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले भने महासंघलाई कमजोर बन्न नदिने प्रतिवद्धता व्यक्त गर्नुभयो । उद्योगी व्यवसायीको हितमा सधै महासंघलाई बलियो गरी उपस्थित हुने वातावरण निर्माण गरिने पनि ढकालले बताउनुभयो । कार्यक्रममा उद्योगी व्यवसायीहरुले महासंघ नेतृत्व समक्ष साना तथा मझौला उद्योगीहरुको हितमा एकजुट भएर काम गर्न आग्रह गरेका छन् । उनीहरुले पक्ष विपक्ष भन्दापनि साझा समस्यालाई एकजुट भएर समाधान गर्ने दिशामा अगाडि बढ्न नेतृत्व समक्ष आग्रह गरेका हुन् ।

प्रकाशित मिति : २३ मंसिर २०७७, मंगलवार १९:२९