११ जेष्ठ २०८१, शुक्रबार | Sat May 25 2024

कुसंस्कारका पर्खालहरु ढाल्दिउ जस्तो लाग्छ (गजल)


–सीता शर्मा

कुसंस्कारका पर्खालहरु ढाल्दिउ जस्तो लाग्छ
चेतनाको दियो देशैभर बाल्दिउ जस्तो लाग्छ ।

घरै अगाडी फोहोर थुपारी नाक थुन्ने मनुवाको
दिमागको गोबर झिकी फाल्दिउ जस्तो लाग्छ ।

महङ्गिको विरुद्धमा टायर बाल्दा विद्यार्थीले
आन्दोलनको आगोमा घिउ हाल्दिउ जस्तो लाग्छ ।

माथि देखी तल सम्म भ्रष्टाचारको जालैजालो
बिकास बजेट चुहावटलाई टाल्दिउ जस्तो लाग्छ।

सडक पेटीमा बेवारिसे बृद्बृ-बृद्दा अनाथ देख्दा
थामिन्न मन घरमै ल्याइ पाल्दिउ जस्तो लाग्छ ।

हाल; लमही ५ दाङ

प्रकाशित मिति : २ असार २०७५, शनिबार १२:०३