२९ कार्तिक २०८१, बिहीबार | Thu Nov 14 2024

ज्येष्ठ नागरिक शारीरिक दुव्र्यवहारबाट पीडित

१ असार, काठमाडौँ । ज्येष्ठ नागरिकले शारीरिक, मानसिक र यौनिक दुव्र्यवहारबाट आफूहरु पीडित हुनु परेको गुनासो गरेका छन् ।राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले आयोजना गरेको ज्येष्ठ नागरिक दुव्र्यवहारविरुद्ध १३औँ विश्व चेतना दिवस अन्तरक्रियामा ज्येष्ठ नागरिक लक्ष्मण थापाले ज्येष्ठ नागरिक शारीरिक, मानसिक र यौनिक जस्ता कुनै पनि समस्याबाट अछूत रहन नसकेको बताउँदै भन्नुभयो, “प्रत्येक घरमा आफ्नो सन्तानबाट नै ज्येष्ठ नागरिकलाई अपमानजनक व्यवहार हुने गरेको छ ।

ज्येष्ठ नागरिक मोहन केसीले नेपाली सञ्चारमाध्ययमले ज्येष्ठ नागरिकको दुव्र्यवहारबाट हुने पीडालाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।
अर्का ज्येष्ठ नागरिक माधवप्रसाद घिमिरेले राज्यले कानून निर्माण गरे पनि कार्यान्वयन हुन नसक्दा समस्या छ भन्दै कार्यान्वयन गर्नेतर्फ विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो । पूर्वमन्त्री आनन्दप्रसाद पोखरेलले पाटीपौवा, शौचालय, सडक जस्ता स्थान ज्येष्ठ नागरिकमैत्री हुनुपर्ने बताउनुभयो ।

महासङ्घका अध्यक्ष मदनदास श्रेष्ठले ज्येष्ठ नागरिकको समस्या छिटो सम्बोधन गर्नका लागि कानून कार्यन्वयन र छुट्टै आयोग गठन गर्न आग्रह गर्नुभयो । सांसद् पार्वत गुरुङले सबै सन्तानले आफ्ना बाबुआमालाई सम्मान र माया गर्ने हो भने यस क्षेत्रको समस्यामा कमी आउने बताउनुभयो ।

जेरियाट्रिक सेन्टर नेपालले सन् २००८ देखि २०१० सम्म गरेको एक अध्ययनले ११७ ज्येष्ठ नागरिकमाथि भएको घटनामध्ये ४३ प्रतिशत शारीरिक दुव्र्यवहार हुने गरेको छ । यसरी पीडित हुनेमा सबैभन्दा बढी ६० देखि ७० वर्ष उमेर समूहका रहेको अध्ययनले देखाएको छ ।

प्रकाशित मिति : १ असार २०७५, शुक्रबार २०:४१