१३ श्रावण २०८३, बुधबार | Thu Jul 30 2026

तनहुँका नौ हजार १०९ लाभग्राहीले लिए तेस्रो किस्ता

१२ मंसिर, काठमाडाैँ । जिल्ला आयोजना कार्यान्वयन एकाइ तनहुँबाट नौ हजार १०९ लाभग्राहीले तेस्रो किस्ताको रकम लिएका छन् । कात्तिक मसान्तसम्म निजी आवास पुनःनिर्माण कार्यक्रमअन्तर्गत उक्त लाभग्राहीले तेस्रो किस्ता लिएका हुन् । तनहुँमा भूकम्पबाट क्षति भएका १५ हजार ९६३ लाभग्राहीमध्ये १४ हजार ६२० लाभग्राहीलाई पहिलो किस्ताको रकम निकासा भएको कार्यालयका कम्प्युटर अपरेटर सुजन तिवारीले जानकारी दिनुभयो ।

पहिलो किस्ताबापतको रकम लगेपछि एक हजार ३४३ लाभग्राहीले सम्झौता गर्न नआएको तिवारीले जानकारी दिनुभयो । भूकम्पबाट जिल्लाको भानु नगरपालिकामा पूर्ण क्षति भएका चार हजार ५५१, आंशिक क्षति २९४ गरी चार हजार ८४५, व्यास नगरपालिकामा पूर्ण क्षति दुई हजार ९३, अांशिक ४४८ गरी दुई हजार ५४१, शुक्लागण्डकी नगरपालिकामा पूर्ण क्षति एक हजार ९५७, आंशिक १२० गरी दुई हजार ७७, म्याग्दे गाउँपालिकामा पूर्ण क्षति एक हजार ३९२, आंशिक ९७ गरी एक हजार ४८९ र भिमाद नगरपालिकामा पूर्ण क्षति एक हजार १४५, आंशिक १८६ गरी एक हजार ३३१ घर क्षति भएका थिए ।

बन्दीपुर गाउँपालिकामा पूर्ण क्षति एक हजार २४, आंशिक ९२ गरी एक हजार ११६, आँबुखैरेनी गाउँपालिकामा पूर्ण क्षति ७५२, आंशिक १८९ गरी ९४१, देवघाट गाउँपालिकामा पूर्ण क्षति ६१९, आंशिक ४२ गरी ६६१ र ऋषिङ गाउँपालिकामा पूर्ण क्षति ५४५, आंशिक ८७ र घिरिङ गाउँपालिकामा पूर्ण क्षति ३१७ आंशिक १३ गरी ३३० घर क्षति भएका थिए ।

आव ०७५÷०७६ मा पहिलो किस्ता ३१७, दोस्रो किस्ता पाँच हजार २६५ र तेस्रो किस्ता पाँच हजार १३२ लाभग्राहीको रकम निकासा गरिएको कार्यालयका शाखा अधिकृत एवं सूचना अधिकारी सूर्यप्रसाद शर्माले बताउनुभयो । उहाँका अनुसार आव २०७६÷०७७ मा पहिलो किस्ता ६१९, दोस्रो किस्ता एक हजार ४५४ र तेस्रो किस्ता दुई हजार २९३ जनाले रकम निकासा गरिएको छ । आर्थिक वर्ष ०७७÷०७८ मा पहिलो किस्ता ४०८, दोस्रो किस्ता ३४६ र तेस्रो किस्ता ७२२ जना लाभग्राहीले रकम लिएको कार्यालयका शाखा अधिकृत एवं सूचना अधिकारी शर्माले जानकारी दिनुभयो । रासस

प्रकाशित मिति : November 27, 2020 at 7:36 am