१३ श्रावण २०८३, बुधबार | Thu Jul 30 2026

ढकाल समूहले सार्वजनिक गर्यो एफएनसिसीआइ भिजन २०२५

११ मंसिर, काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकाल समूहले आफ्नो कार्यकालमा गर्ने काम समावेश गरेर ‘एफएनसीसीआई भिजन २०२५’ को मस्यौदा सार्वजनिक गरेको छ ।

वरिष्ठ उपाध्यक्षका उम्मेदवार ढकाल समूहले आफ्ना एजेण्डालाई समेटेर आज २५ बुँदामा सो भिजन सार्वजनिक गरेको हो । महासङ्घमा वरिष्ठ उपाध्यक्ष नै स्वतःअध्यक्ष हुने प्रावधान रहेकाले यसपटक ढकाल आफू वरिष्ठ उपाध्यक्ष भएपछि र त्यसपछिको अध्यक्षको कार्यकाललाई समेत समेटेर महासङ्घमा गर्नुपर्ने सुधारका साथै नेपालको उद्योग व्यवसाय क्षेत्रका व्यावसायिक हकहितका विषयलाई समावेश गरिएको छ ।

त्यसमा महासङ्घको सशक्तता र सुधार, जिल्ला नगर उद्योग वाणिज्य सङ्घलाई सक्षम र सबलीकरण गर्ने, नेपालमा उद्योगमैत्री वातावरणको निर्माण, व्यवसायीका हकहितका विषयवस्तु, नीति निर्माणमा गरिने पैरवी, हालको कोभिड महामारीका कारण नेपालको उद्योग व्यवसाय क्षेत्रले भोग्नुपरेका समस्या र त्यसको समाधान, नेपालमा उद्यमशीलताको विकास र विस्तारको वातावरण निर्माण, नेपालमा वैदेशिक लगानी भित्र्याउने वातावरणको निर्माण जस्ता विषय उल्लेख गरिएको छ ।

महासङ्घ र नेपालको उद्योग व्यवसाय क्षेत्रको विकास विस्तारका विषयलाई यस भिजनले तत्कालीन, मध्यकालीन र दीर्घकालीन लक्ष्य समेटिएको छ । तत्कालिक प्राथमिकतामा कोरोना भाइरस महामारीले सबभन्दा बढी र प्रत्यक्ष मार सबै दृष्टिले मुलुकका उद्योग व्यवसायमाथि परेको भन्दै त्यसको सबलीकरणमा जोड दिएको छ ।

आगामी पाँच वर्षभित्र महासङ्घलाई निजी क्षेत्रको सङ्घीय अभिभावकीय संस्थाका रूपमा रुपान्तरण गरी ‘एफएनसिसिआइ भिजन २०२५’को अवधारणा कार्यान्वयन गर्न एउटा अलग्गै रणनीतिपत्र बनाउने उल्लेख छ ।

पूर्वाधार, औद्योगीकरण, नवीकरणीय ऊर्जा, सूचना प्रविधि, सेवा आदि सबै क्षेत्रमा ठूलो लगानी भित्र्याउनु अपरिहार्य रहेको भन्दै उक्त अवधारणामा लगानी बोर्ड, औद्योगिक प्रवद्र्धन बोर्ड तथा उद्योग विभागबाट भित्रिने लगानीको सहजीकरण गर्न महासङ्घमा व्यावसायिक लगानी सहजीकरण शाखा नै स्थापना गरी अनलाइन र प्रत्यक्ष निःशुल्क परामर्श सेवा प्रदान गरिनेछ ।

प्रकाशित मिति : November 26, 2020 at 7:24 am