११ आश्विन २०८१, शुक्रबार | Fri Sep 27 2024

मलेसिया जाने कामदार ठगी प्रकरणः फरार व्यवसायी गोविन्द थपलियालाई प्रहरीकै संरक्षण

३१ जेठ, काठमाडौँ । सिन्डिकेट खडा गरी रोजगारीका लागि मलेसिया जाने कामदारमाथि अवैध ढंगले रकम असुल्दै आएका मेडिकल व्यवसायी गोविन्द थपलियालाई प्रहरीकै संरक्षण रहेको बुझिएको छ । पूर्व प्रहरी अधिकारीसमेत रहेका व्यवसायी थपलिया तत्कालीन प्रधानमन्त्री स्वर्गीय गिराजाप्रसाद कोइरालाको एडिसी समेत रहेका थिए ।

अहिले उनले प्रहरीको उच्च नेतृत्वलाई नै प्रभावमा पारेर फरारसूचीमा रहेर ढुक्कसँग घरमा बसिरहेका छन । प्रहरीका उच्च अधिकारीले थपलियालाई राजनीतिक संरक्षणमा रहेको भन्ने भ्रम देखाएर संरक्षण गरेको बुझिएको छ । प्रहरी प्रधान कार्यालयमा कार्यरत एक प्रहरी उपरिक्षकका अनुसार थपलिया काठमाडौँमा रहेका छन । उनका अनुसार थपलिया दिनहुँ रेष्टुरेन्ट चाहरेर प्रहरीकै बहालवाला र पूर्व अधिकृतसँग कफी पिएर हिडिँरहेका छन । यद्यपी प्रहरीले भने उनलाई फरार अभियुक्तको सूचीमा राखेर आनन्द लिइरहेको छ ।

विदेशीने कामदारलाई विभिन्न बहानामा ठगी गर्नेविरुद्ध श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले गृहमन्त्रालयको समन्वयमा कारबाही सुरु गरेपछि ठगहरु तिलमिलाएका छन । केही ठगहरु अहिले पनि प्रहरी कस्टडीमा रहेका छन भने कतिपय प्रहरीकै सेटिङमा फरार अभियुक्त बनेर बसिरहेका छन । प्रहरीले गत जेठ ३ गते मलेसिया जाने कामदारलाई अवैध रुपमा ठगी गरेको आरोपमा २४ मेडिकल संस्थाका ४७ जनालाई पक्राउ गरेको थियो । जसमध्ये १४ जना कार्यालयमा काम गर्ने कर्मचारी परेको भन्दै केही दिनमा छाडिएको थियो ।

ठगीमा संलग्नमध्ये १२ जना मेडिकल सञ्चालक अझै फरार छन् फरार रहेका मध्ये आइएससी (इमिग्रेसन सेक्युरिटी क्लियरेन्स) र कोसी इन्टरनेशनल प्रालिका संस्थाका सञ्चालक रहेका थपलिया भने मन्त्री नै परिवर्तन गर्छु भन्दै हिडिरहेका छन । थपलिया प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको टोलीमा समेत अटाएका व्यवसायी हुन । कतिपयले प्रधानमन्त्रीका सल्लहकारहरुकै आग्रहमा प्रहरीले थपलियाको संरक्षण गरेको आशंका समेत गरेका छन ।

थपलियालाई यसअघि ठगीको आरोपमा २०७३ पुष २८ गते नेपाल प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्चले साधारण सदस्यसमेत नरहने गरी बर्खास्त गरेको थियो । कोसी इन्टरनेशनल प्रालिका सञ्चालक रहेका थपलियाले ‘आइएससी’ नामक संस्था खोली मलेसिया जाने कामदारमाथि थप आर्थिक भार पार्ने कार्यमा संलग्न भएकाले आरोपमा कारबाहीमा परेका थिए । आइएससीले गत भदौ ३० गतेदेखि महाराजगञ्जमा कार्यालय स्थापना गरी मलेसिया जाने कामदारको औँठा छाप लिएको नाममा प्रतिकामदार तीन हजार २०० थप असुलिरहेको थियो ।

यो पनि पढ्नुहोस् 

–म्यानपावरका फरार अभियुक्त थपलिया १० कराेड बोकेर श्रममन्त्री हटाउने अभियानमा

प्रकाशित मिति : ३१ जेष्ठ २०७५, बिहीबार १८:३६