१३ श्रावण २०८३, बुधबार | Thu Jul 30 2026

बालिकाको हत्या आरोपमा पक्राउ परेका साहको घरमा आगजनी, कारवाहीको माग गर्दै राजमार्ग बन्द

९ मंसिर, बर्दिबास । महोत्तरीको बर्दिबास-१४ शुभम् बस्तीबाट बेपत्ता भएकी ६ वर्षीया बालिका बलात्कार गरेर हत्या गरेको आरोपीलाई कडा कारवाहीको माग गर्दै स्थानीय आन्दोलित भएका छन्। बालिकाको हत्या आरोपमा पक्राउ परेका गौशाला नगरपालिका ५ का २५ वर्षीय अरुण कुमार साहको बर्दिवास नगरपालिका १४ स्थित घरमा स्थानीयवासीले तोडफोड गर्दै आगजनी गरेका हुन् ।

 आक्रोशित स्थानीयले पूर्व–पश्चिम राजगमार्गमा टायर बालेर बन्द गरेका छन्। आगो निभाउन दमकल आए पनि स्थानीयले बाटो अवरुद्ध गरेका कारण दमकल आगलागी भएको स्थानसम्म पुग्न सकेको छैन । घटनास्थलमा प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ । बालिकाको शव बोरामा राखेर फालेको अवस्थामा फेला परेपछि हत्याको आरोपमा पक्राउ परेका साहलाई इलाका प्रहरी कार्यालय बर्दिवासले नियन्त्रणमा लिएको छ ।

भीडलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । बर्दिवास नगरपालिका–१४ निवासी शहिद आलमकी ६ वर्षीया छोरी गुलाब साह खातुनको शव बोरामा पोको पारेको अवस्थामा सोमबार साँझ घर नजिकै फेला परेको थियो । उनी आइतबार साँझदेखि बेपत्ता थिइन् ।

प्रकाशित मिति : November 24, 2020 at 10:22 am