१७ पुष २०८१, बुधबार | Wed Jan 1 2025

आज राति दुई बजेदेखि मलमास समाप्त

३० जेठ, काठमाडौँ । जेठ १ गते मंगलबार बेलुकी पाँच बजेर ५३ मिनेटदेखि शुरु भएको अधिकमास आज राति दुई बजे समाप्त हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

जेठ १ गते मंगलबार बेलुकी पाँच बजेर ५३ मिनेटसम्म औँसी तिथि थियो । बेलुकी पाँच बजेर ५४ मिनेटमा शुक्ल प्रतिपदाको आदिमदेखि अधिकमास शुरु भई आज राति औँसीको अन्त्य अर्थात् राति दुई बजेसम्म रहेको समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्राध्यापक डा रामचन्द्र गौतमले जानकारी दिनुभयो ।

ज्येष्ठ चान्द्रमासमा सूर्यसंक्रान्ति नपर्ने भएकाले यस वर्ष जेठमा अधिकमास परेको हो, अधिकमासलाई मलमास र पुरुषोत्तममास पनि भन्ने गरीन्छ ।
अधिकमास परेकाले जेठ महिनाभर नित्य र नैमित्तिक कर्म गरिए पनि कुनै कामना राखेर गर्ने कर्म भने भएन । बुधबार राति दुई बजेपछि कामना राखेर गरिने कर्म गर्ने बाटो शास्त्रीय रुपमा खुलेको उहाँले बताउनुभयो ।

सूर्यको गतिकलाका आधारमा गणना गरिने मानलाई सौरमान भनिन्छ । तिथिका आधारमा गणना गरिने मान चान्द्रमान हो । १२ महिनाको एक वर्ष हुन्छ । एक वर्षमा १२ सौरमास र त्यति नै संख्यामा चान्द्रमास हुन्छन् ।

कहिलेकाहीँ एक वर्षमा १२ सौरमास भए पनि चान्द्रमासको संख्या १३ हुनपुग्छ । त्यस्तो समयमा एकै चान्द्रमास दुईपटक देखापर्छ अथवा चान्द्रमासको पुनरावृत्ति हुन्छ । त्यसरी पुनरावृत्ति भएर नित्यभन्दा बढी भएको चान्द्रमास नै अधिकमास भएको बताउनुहुन्छ वाल्मीकि विद्यापीठ ज्योतिष विभागका उपप्राध्यापक पुरुषोत्तम भट्टराई ।

सामान्यतया सौरमास र चान्द्रमास सँगसँगै हुन्छन् । एक चान्द्रमासमा लगभग साढे उनन्तीस दिन र एक चान्द्रवर्षमा ३५४ दिन हुन्छन् भने सौरवर्ष लगभग ३६५ दिनको हुन्छ । यसरी हेर्दा एक वर्षमा सौर र चान्द्र वर्षबीच ११ दिनको अन्तर पर्न आउँछ । दुई वर्षमा यो अन्तर बढेर २२ दिन र तीन वर्षमा ३३ दिन हुन पुग्छ । तसर्थ तेस्रो वर्षमा सौरमासको संख्या १२ भए पनि चान्द्रमासको संख्या १३ हुन्छ । त्यो बढी भएको तेह्रौँ मास नै अधिकमास हो । तीन वर्षमा एक चान्द्रमास बढी भएर अधिकमास पर्दछ ।

अधिकमास पर्दा एक चान्द्रमासमा एउटा पनि सूर्य सङ्क्रान्ति पर्दैन । एउटा पनि सूर्यसङ्क्रान्ति, नभएको चान्द्रमास नै अधिकमास हो । धर्मशास्त्रमा सूर्यसङ्क्रान्तिरहित मासलाई अशुद्ध वा दोषयुक्त मानिएको हुनाले यसलाई मलमास पनि भनिन्छ । त्यस्तै कहिलेकहीँ एउटै चान्द्रमासमा दुईवटा सूर्यसङ्क्रान्ति पनि पर्छ । त्यस्तो दुईवटा सूर्यसङ्क्रान्ति, परेको मासलाई क्षयमास भनिन्छ । क्षयमास पर्दा अगाडि र पछाडि गरी दुईवटा अधिकमास पर्दछन् ।

करिब एक हजार ५०० वर्ष अघि बराहमिहिरको पालादेखि शुरु भएको सूर्य सिद्धान्त आधार मानिने पञ्चाङ्ग गणना पद्धतिअनुसार फागुनदेखि असोजसम्ममा अधिकमास पर्छ ।

प्रकाशित मिति : ३० जेष्ठ २०७५, बुधबार २०:०२