५ आश्विन २०८३, सोमबार | Mon Sep 21 2026

जनस्वास्थ्यका मापदण्ड पालना गरी चाडपर्व मनाउन मुख्यमन्त्री गुरुङको अपिल

४ मंसिर, गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारद्वारा जारी जनस्वास्थ्यका मापदण्ड पूर्णरुपमा पालना गर्ने गरी चाडपर्व, जात्रा तथा उत्साव मनाउन सबैमा अपिल गर्नुभएको छ । नेपालीहरुको महान पर्व छठ, २०७७ को अवसरमा आज जारी गर्नुभएको शुभकामना सन्देशमा उहाँले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, आपसी सद्भाव, एकता, प्रगति एवं सु–स्वास्थ्यको कामना गर्नुभएको छ ।

उहाँले सन्देशमा विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ का कारण यसपालिका हाम्रा उत्सव तथा पर्वहरु परिवारका सदस्यबाहेक अन्यसँग भेटघाट कम गर्ने, भेटघाट गर्नैपर्ने भएमा भौतिक दूरी अनिवार्य रुपमा कायम गर्ने, माक्स प्रयोग गर्ने, साबुन पानीले हात धुने वा स्यानीटाइजर प्रयोग गर्नुपर्ने उल्लेख गर्नुभएको छ ।

“प्रकृतिप्रति कृतज्ञता र आराध्यदेव सूर्यको पूजा–आराधना गरी छठ पर्व हर्षोल्लासका साथ मनाइन्छ”, उहाँले सन्देशमा भन्नुभएको छ, “सूर्यको उपासनाले सन्तानको निरोगिता, सुख–समृद्धि र चर्म रोग निको हुने परम्परागत विश्वास रहेको छ ।” मुख्यमन्त्री गुरुङले सत्य र अहिंंसाप्रति मानवको रुचि बढाउने तथा जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु यस पर्वको मुख्य विशेषता रहेको बताउँदै यो पर्व मुख्यरुपमा तराई–मधेशमा मनाइने परम्परा रहेपनि अहिले मुलुकका अन्य भू–भागमा पनि उत्तिकै हर्षोल्लासका साथ मनाइन थालिएको बताउनुभयो ।

हाम्रा मौलिक पर्वलाई सबै समुदायले आत्मसात गर्ने र मनाउने फराकिलो संस्कृतिको विस्तारले विभिन्न जात, धर्म र सम्प्रदायबीच आपसी मेलमिलाप, भातृत्व, सामाजिक सद्भाव, सहिष्ण्ुता र सौहार्दतालाई अझ सुदृढ पार्ने र समाजमा शान्ति एवं स्थायित्वका साथ मुलुकमा सामाजिक न्यायसहितको आर्थिक विकास र समृद्धि हासिल हुने विश्वास लिएको उहाँले शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ ।

प्रकाशित मिति : November 19, 2020 at 4:26 pm