दाङका काेराेना संक्रमितको कोहलपुरमा मृत्यु
३ मंसिर, राँझा । बाँकेको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचाररत दाङका एक सङ्क्रमितको आज बिहान मृत्यु भएको छ । दाङको घोराही उपमहानगरपालिका–१७ निवासी ७९ वर्षीय पुरुषको उपचारका क्रममा शिक्षण अस्पताल कोहलपुरमा आज बिहान २ बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको पिसीआर जाँचमा उहाँलाई कात्तिक २१ गते कोरोना पुष्टि भएको थियो । कोरोना पुष्टि भएपश्चात उनी होमआइसोलेसनमा बसेको अवस्थामा स्वास्थ्यमा समस्या देखिएपछि मङ्सिर २ गते राति शिक्षण अस्पताल कोहलपुरको कोभिड वार्डमा भर्ना गरी उपचार शुरु गरिएको थियो ।

अस्पतालको कोभिड–१९ आइसोलेसन वार्डमा भर्ना भएका उहाँलाई उपचारका क्रममा अक्सिजन, फेसमास्क, एन्टिबायोटिक्स, भेन्टिलेटरलगायतका सम्पूर्ण विधि अपनाउँदा पनि स्वास्थ्यमा सुधार नआई बिग्रँदै गएपछि आज बिहान मृत्यु भएको स्रोत व्यक्ति श्रेष्ठले बताउनुभयो ।यससँगै बाँकेमा बाहिरी जिल्लाबाट कोरोनाको उपचारको क्रममा ज्यान गुमाएका ४० र बाँके जिल्ला निवासी ३७ गरी कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ७७ पुगेको छ ।
प्रकाशित मिति : November 18, 2020 at 11:32 am



