१४ श्रावण २०८३, बिहिबार | Thu Jul 30 2026

१ मंसिर, काठमाडाैँ । कार्तिक शुक्ल प्रतिपदाका दिन सूर्योदय भएका दिन मनाइने नेपाल संवत्अनुसारको नयाँ वर्ष आज मनाइँदैछ । नेसं ११४१ का अवसरमा आज देशभर विविध कार्यक्रम गरिँदैछ । यस वर्ष कोरोना महामारीका कारण भीडभाड हुने कार्यक्रम भने आयोजना नगरिने जनाइएको छ ।

राष्ट्रिय विभूति शंखधर साख्वाले विसं ९३७ (इ सं ८८०) मा गरीब जनताको ऋणमोचन गरी नेसंको शुरुआत गराउनुभएको थियो । नेसंले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवत्को मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति डा त्रिरत्न मानन्धरले जानकारी दिनुभयो ।

“लिच्छविकालका राजा राघवदेवको शासनकालदेखि शुरु भएको नेपाल संवत् पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक संवत्का रुपमा चलेको थियो, लिच्छविकालअघि शक संवत् प्रचलनमा थियो, नेपाल देशको नामबाट राखिएकाले यो मौलिक संवत् हो”, उहाँले भन्नुभयो ।

विसं २००७ मा प्रजातन्त्र स्थापनादेखि नै नेसंलाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको छ । गरीब जनताको ऋणमोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमूना प्रस्तुत गरेको र नेपालमा मौलिक संवत्समेत चलाएको कार्यको उच्च मूल्याङ्कन गर्दै २०५६ सालको नयाँ वर्षका दिन तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको सरकारले साख्वालाई राष्ट्रिय विभूति घोषणा गर्नुभएकोे थियो ।

विसं २०६५ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेसंले राष्ट्रिय मान्यता पाउने घोषणा गर्नुभएको थियो । कार्तिक कृष्ण औँसीका दिन बहीखाता बन्द गरी नयाँ वर्ष अर्थात् कार्तिक शुक्ल प्रतिपदाका दिन नयाँ बही खाताको शुरुआत गर्ने परम्परासमेत काठमाडौँमा अझै छ ।

प्रकाशित मिति : November 16, 2020 at 6:29 am