टोलटोलमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण
६ कात्तिक, सिन्धुली । यहाँको फिक्कल गाउँपालिले घरदैलोमै गएर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको छ । भौगोलिक विकटताका कारण बैंकसम्म पुगेर भत्ता लिन असहज हुने भएपछि गाउँपालिकाले टोलटोलमै पुगेर भत्ता वितरण गर्न थालेको हो ।
टोलटोलमा गएर गाउँपालिकाका एक हजार २०० भन्दा बढीलाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको गाउँपालिकका उपाध्यक्ष पार्वती सनुवारले बताउनुभयो । उहाँले भन्नुभयो, “सामाजिक सुरक्षा भत्ता बैंकसम्म पुगेर ल्याउन सक्ने सम्भव देखिँदैन, घण्टौँसम्म पैदल हिँडेर ज्येष्ठ नागरिकलाई भत्ता लिन जान झन् समस्या छ । यस्ता समस्याको समाधान गर्न गाउँपालिकाले टोलटोलमा पुगेर भत्ता वितरण गर्ने अभियान चलाएको छ ।”
![]()
लकडाउनका कारण एक ठाउँमा धेरै मानिस जम्मा गरेर भत्ता वितरणमा असहज हुने र बैंकबाट पनि वितरण गर्न सक्ने अवस्था नरहेकाले घरदैलोमा कर्मचारी र जनप्रतिनिधि पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिएको उहाँले बताउनुभयो । हालसम्म वडा नं ५ र ६ का लाभग्राहीले सामाजिक सुरक्षा भत्ता बुझिसकेको तथा वडा नं १, ३, ४ मा वितरण भइरहेको उहाँले जानकारी दिनुभयो ।
जिल्ला अरु स्थानीय तहले बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आए पनि फिक्कलले भने कोरोनाको सङ्क्रमण फैलन सक्ने भन्दै घरैमा पुगेर भत्ता बाँड्ने अभियानलाई निरन्तरता दिएको गाउँपालिका उपाध्यक्ष पार्वती सुनुवारले बताउनुभयो ।
प्रकाशित मिति : October 22, 2020 at 11:01 am



