प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि चार हजार बेरोजगार सूचीकृत
३ कात्तिक, रुकुमपूर्व । प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि रुकुम(पूर्व)मा करीब चार हजार बेरोजगार सूचीकृत भएका छन् । आर्थिक वर्ष २०७७/०७८ का लागि जिल्लाका तीन गाउँपालकाबाट चार हजार १६७ व्यक्ति रोजगार व्यवस्थापन सूचना प्रणाली (इएमआइएस) मा सूचीकृत भएका हुन् ।
सरकारले गत साउन ८ देखि भदौ ७ गतेसम्म आफू स्थायी बसोबास रहेको स्थानीय तहको वडामा गएर इच्छुक १८ देखि ५९ वर्ष उमेर समूहका व्यक्तिले बेरोजगार दर्ताका लागि निवेदन दिन पाउने व्यवस्था गरेको थियो ।तोकिएको समयावधिभित्र फाराम भरेकाबाट वडा समिति, स्थानीय निर्देशक समिति र कार्यपालिकाबाट वास्तविक बेरोजगार छानिई रोजगार व्यवस्थापन सूचना प्रणालीमा सूचीकृत गरिएको हो ।

सबैभन्दा बढी पुथाउत्तरगङ्गा गाउँपालिकाबाट एक हजार ८४३ बेरोजगार सूचीकृत भएको गाउँपालिकाका रोजगार संयोजक अनिता भुसालले बताउनुभयो । यस्तै सिस्ने गाउँपालिकाबाट एक हजार ६०६ बेरोजगार सूचीकृत भएको सिस्ने गाउँपालिका रोजगार संयोजक सुशीलाकुमारी सिंहले जानकारी दिनुभयो । सबैभन्दा कम भूमे गाउँपालिकाबाट ७१८ बेरोजगार सूचीकृत भएका छन् । सूचीकृतलाई क्रमशः प्राथमिकताका आधारमा न्यूनतम एक सय दिनको काममा लगाइने गाउँपालिकाले जनाएका छन् ।
प्रकाशित मिति : October 19, 2020 at 2:30 pm



